क्वारेन्टिनमा भएको बलात्कारबारे छानबिन हुने……

कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित सहिद स्मारक माविको क्वारेन्टिनमा बसेकी महिलामाथि भएको सामूहिक बलात्कारबारे छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगको एक टोली घटनास्थलतर्फ लागेको छ। आयोगले नेपाल प्रहरीलाई विस्तृत जानकारी पठाउन पत्राचारसमेत गरेको छ। आयोगको धनगढीस्थित प्रदेश कार्यालयको टोली अनुगमनका लागि सोमबार घटनास्थलतर्फ लागेको हो। भारतबाट आई जेठ २० गतेदेखि क्वारेन्टिनमा बस्दै आएकी उनले जेठ ३१ गते राति आफू बलात्कृत भएको भन्दै उजुरी दिएकी हुन्। यसअघि आयोगले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन गर्न आग्रह गरेको थियो। मापदण्ड लागू गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराइए पनि सुधार हुन नसकेकोमा आयोगले दुःख व्यक्त गरेको छ। राज्यका निकायबाटै सञ्चालित क्वारेन्टिनभित्र बलात्कारजस्तो जघन्य अपराध हुनुलाई अत्यन्त दुःखद भनेको छ। ‘संविधानको धारा ३८ र १८ मा उल्लिखित मौलिक हक र नेपाल पक्ष भएको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि, १९७९ मा उल्लिखित अधिकारको समेत उल्लंघन भएको देखिन्छ,’ आयोगका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मापदण्डअनुसार क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिकाको पूर्ण कार्यान्वयन गर्न सरकारको फेरि ध्यानाकर्षण गराएको छ। घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन, क्वारेन्टिनमा यस्ता घटना नदोहोरिने सुनिश्चित गर्न आग्रह गरेको छ। बलात्कृत महिलाको स्वास्थ्य परीक्षण, पिसीआर परीक्षण गरी मनोसामाजिक विमर्श गर्न भनिएको छ। श्राेत:एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार