भारत सामान्य अवस्थामा फर्किंदै छ : मोदी……

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) को कहरबीच भारत फेरि सामान्य अवस्थामा फर्किइरहेको बताएका छन् । लकडाउन खुकुलो पारिएसँगै व्यापारिक, औद्योगिक तथा कृषिसम्बन्धी गतिविधि सुचारु हुँदै जानुका साथै विभिन्न वस्तु तथा सेवाको उपभोग तथा माग बढेको उनको भनाइ छ । लकडाउनको अवधिमा भारतभर उत्पादन, बिक्री, माग र उपभोग घटेकोमा अहिले पूर्ववत् अवस्थामा फर्कन थालेको मोदीले जनाए ।  व्यावसायिक कोइला उद्योगको उद्घाटन गर्दै मोदीले भने, ‘पछिल्लो समय फेरि उपभोग र माग बढ्दै गएको छ भने आर्थिक गतिविधि र जनजीवन पनि सामान्य हुँदै गएको छ ।’ प्रधानमन्त्री मोदीले स्रोतहरूलाई उद्धृत गर्दै विद्युत् तथा पेट्रोलियम पदार्थको माग कोभिड–१९ को संक्रमण हुनुभन्दा पहिलेको अवस्थामा पुग्न लागिसकेको छ । ‘यी संकेतहरूले के प्रस्ट पार्छन् भने आर्थिक गतिविधि तथा जनजीवन पहिलाको जस्तै हुन लागिसकेको छ, हामी पहिलाकै अवस्थामा फर्कंदै छौं,’ मोदीले भने । मेडिकल सामग्रीमा भारत चाँडै आत्मनिर्भर बन्ने मोदीको भनाइ छ । ‘केही सातापछि हामीले एन–९५ मास्क, कोरोना टेस्ट किट्स, पीपीई, भेन्टिलेटरलगायत सामग्रीहरू निर्यातसमेत गर्नेछौं,’ मोदीले बताए । एकै दिन १२ हजार ८ सयभन्दा बढी संक्रमित कोभिड–१९ बाट भारतमा २४ घण्टाको अवधिमा १२ हजार ८ सय ८१ जना संक्रमित भएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितमध्ये १ लाख ९४ हजार ३ सय २५ जना निको भएका छन् । गत २४ घण्टाको अवधिमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ सय ३४ छ । योसँगै भारतमा भाइरसका कारण मृत्यु भएकाहरूको संख्या १२ हजार २ सय ३७ पुगेको छ । भाइरसका कारण महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित छ । यस राज्यमा अहिलेसम्म १ लाख १६ हजार ७ सय ५२ जना संक्रमित भइसकेका छन् । तीमध्ये ५९ हजार १ सय ६६ जना संक्रमणमुक्त भइसकेका छन् । महाराष्ट्रमा ५ हजार ६ सय ५१ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी दोस्रो प्रभावित तमिलनाडुमा ५० हजार १ सय ९३ जना संक्रमित छन् । दिल्लीमा ४७ हजार १ सय २ जना संक्रमित छन् । दिल्लीमा १ हजार ९ सय ४ र तमिलनाडुमा ५ सय ७६ जनाको भाइरसका कारण मृत्यु भइसकेको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार