चीनले आफ्नो कब्जामा रहेका १० भारतीय सैनिकलाई रिहा गऱ्यो : रिपोर्ट……

चीनले गिरफ्तार गरेका १० जना भारतीय सैनिकलाई रिहा गरेको छ । सोमबार लद्दाखको गलवान उपत्यकाको सीमामा भएको झडपका क्रममा गिरफ्तार गरिएका १० भारतीय सैनिकलाई चीनले बिहीबार साँझ रिहा गरेको हो। रिहा हुनेहरुमा एक जना कर्णेल, तीन जना मेजरसहित १० जना रहेको भारतीय पत्रिका द हिन्दूले भारतीय सेनालाई उद्धृत गर्दै लेखेको छ । मेजर जर्नेलस्तरको द्वीपक्षीय वार्तापछि चीनले आफ्नो कब्जामा रहेका भारतीय सैनिकलाई बिहीबार साँझ ५ बजेतिर रिहा गरेको हिन्दूले जनाएको छ । भारतीय सेनाले भने आफ्ना कुनै पनि सेना नहराएको र चीनको कब्जामा नरहेको बताउँदै विज्ञप्ति जारी गरेको थियो । सोमबार सीमामा भएको हिंसक झडपमा एक कर्णेलसहित २० भारतीय सैनिकको मृत्यु भएको छ । त्यस्तै १८ जना भारतीय सैनिक घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले चीनतर्फ पनि मानवीय क्षति भएको दाबी गरे पनि चीनले भने अहिलेसम्म यसबारेमा कुनै जानकारी दिएको छैन । सन् १९६२ को युद्धपछि भएको सबैभन्दा ठूलो झडप हुनुमा भारत र चीनले एकअर्कालाई दोषारोपण गरिरहेका छन् । लद्दाख सीमामा भएको हिंसात्मक क्षडपपछि उत्पन्न तनाव कम गर्न भारत र चीनबीच लगातार सैन्य र कूटनीतिक स्तरबाट वार्ता भइरहेको छ । दुवै देशले मेजर जर्नेल तहको सैन्य वार्ता र विदेशमन्त्रीस्तरको वार्ताबाट सीमामा देखिएको तनाव कम गर्न सहमत भएको बताएका छन् । बुधबार भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन कुराकानी गरेका थिए । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार