कोरियामा पाकिस्तानी र बंगलादेशी ईपीएस कामदारलाई प्रतिबन्ध……

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया आएका बंगलादेश र पाकिस्तानका अधिकांश नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएपछि प्रतिबन्ध लगाइएको छ । शनिबार र आइतबार दुवै देशबाट आएको ३१ जनालाई भाइरसको संक्रमण पुष्टि भएको थियो । दक्षिण कोरिया सरकारका अनुसार दुवै देशका नागरिकलाई मंगलबारदेखि दक्षिण कोरिया आउन प्रतिबन्ध लगाइएको हो । कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै ती देशहरुबाट कोरिया आउने तयारीमा रहेकाहरुको पनि भिसा रद्द गरिएको छ । त्यसैगरी, भिसा लिने क्रममा रहेकाहरुको पनि प्रक्रिया रद्द गरिएको छ । कूटनैतिक तथा अति आवश्यकीय व्यावसायिक चार्टर्ड उडानबाहेक दुवै मुलुकबाट हुने उडानलाई अनुमति नदिइने न्याय मन्त्रालयले जनाएको छ । त्यस्तै, शनिबार नेपालबाट आएका यात्रुहरुमा कोभिड–१९ को परीक्षण नै नगरी प्रमाणपत्र दिएको पाइएको छ । ‘हामी शुक्रराजमा जाँदा झ्यालबाट नाम र पासपोर्ट नम्बर भनेकै आधारमा भाइरस नेगेटिभ भएको प्रमाणपत्र दिइएको पाइयो । कोरिया आउने २ सयभन्दा बढीमध्ये परीक्षण गराएर प्रमाणपत्र लिने १० जना पनि छैनन् होला,’ छनानमा क्वारेन्टाइनमा बस्दै गरेका सूर्य लामाले भने । उनको जस्तै अनुभव शनिबारै कोरिया आएका राजीव घिसिङको पनि छ । ‘हामीलाई कोरोना परीक्षण नै नगरी प्रमाणपत्र दिएका छन् । यसले समस्या ल्याउन सक्छ ।’ भाइरसको संक्रमण बढेपछि तीनपटक चार्टर हवाईजहाजमार्फत ५ सयभन्दा बढी नेपालीहरु कोरिया आएका छन् । अहिलेसम्म दक्षिण कोरियामा कुनै पनि नेपालीलाई कोराना लागेको छैन । नेपालबाट आएकालाई संक्रमण देखिए कोरिया सरकारले नेपालीलाई पनि यात्रा प्रतिबन्ध लगाउने आशंका गरिएको छ । दक्षिण कोरियाका स्वास्थ्यमन्त्री पार्क न्यङ होले पनि राम्रोसँग कोरोना परीक्षण नगरी पठाउने देशका कामदार नल्याउने जनाएका छन् । उनले दुई दिनको अन्तरालमा १६ जना पाकिस्तानी र ७ जना बंगलादेशीमा कोरोना संक्रमित भेटिएको र अन्य देशबाट आएका यात्रुमा पनि राम्ररी परीक्षण नगरी नै पठाएको पाइएमा यस्तै खालको निर्णय हुन सक्ने जनाए । दक्षिण कोरियाली सरकारका अनुसार अप्रिल महिनामा कोरिया आउने यात्रु संख्या सरदर दैनिक एक हजार जना रहेकोमा अहिले दैनिक १ हजार ३ सय विदेशी नागरिक कोरिया प्रवेश गर्ने गरेका छन् । नेपाललगायत दक्षिण एसियाली राष्ट्रबाट कामका लागि कोरिया आउनेको संख्या उल्लेख्य छ ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार