एमसीसी सम्झौता अनुमोदनमा अमेरिकी चासो……

विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनमा ढिलाइ र यही कारण राजनीतिक असमझदारी बढेका बेला अमेरिकाले एमसीसी सम्झौतामा नेपालको स्थितिबारे सरोकार राखेको छ । अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोले एमसीसी कार्यान्वयनमा नेपालमा भइरहेको ढिलाइबारे सरोकार राखेका हुन् । विदेशमन्त्री पोम्पियो र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच बुधबार दिउँसो भएको फोनवार्तामा एमसीसी सम्झौताबारे अहिलेको स्थिति र भविष्यबारे कुराकानी भएको थियो । ‘विदेशमन्त्री पोम्पियोले एमसीसी सम्झौताको सन्दर्भमा अब के हुन्छ भनेर चासो राख्नुभएको थियो, मैले सरकारको अहिलेको पोजिसनबारे स्पष्ट पारें,’ परराष्ट्रमन्त्री ज्ञवालीले कान्तिपुरसँग भने, ‘सरकारले एमसीसी सम्झौताको प्रस्ताव संसद्मा पेस गरिसकेको र अहिले छलफलमै रहेको अवगत गराएँ ।’ मन्त्री ज्ञवालीले एमसीसी मामिलामा नियमित परामर्शमा रहे पनि यसलाई सकारात्मक ढंगले टुंग्याउन प्रयत्नशील रहेको जवाफ आफूले दिएको बताए । सत्तारूढ दल नेकपाको आन्तरिक किचलोका कारण संसद्मा प्रवेश गरेको एक वर्ष भइसक्दा पनि एमसीसी सम्झौता अनुमोदन हुन सकेको छैन । संसद्को हाल जारी बर्खे अधिवेशनबाट अनुमोदन गर्ने भनिए पनि नेकपाभित्र हुबहु अनुमोदन गर्न नहुने मत प्रभावी बनेको छ । नेकपाले एमसीसीका सन्दर्भमा आन्तरिक अध्ययन कार्यदल पनि बनाएको थियो । कार्यदलले यथास्थितिमा एमसीसी सम्झौता कार्यान्वयनमा लैजान नहुने भन्दै यसका प्रावधानमा संशोधनको आवश्यकता औंल्याएको छ । कार्यदलको सुझाव प्रतिवेदनमाथि पार्टी छलफल नगराई संसद्मा अनुमोदन प्रक्रिया अघि बढाउन सरकारले सकेको छैन । संसदीय अनुमोदनमा भएको ढिलाइले परियोजना सुरु गर्ने निर्धारित समय टर्न लागेपछि सरकारले समय लम्ब्याउने विकल्प खोजिरहेको सन्दर्भमा मन्त्री ज्ञवालीको अमेरिकी विदेशमन्त्रीसँग टेलिफोन वार्ता भएको छ । मन्त्री ज्ञवालीले यसअघि २०१८ डिसेम्बर १७–२१ मा भएको अमेरिकाको औपचारिक भ्रमणमा विदेशमन्त्री पोम्पियोसँग भेटवार्ता भएपछि एमसीसीसहित सहयोगका विविध पक्षमा समझदारी तय गर्दै संयुक्त विज्ञप्ति जारी गरिएको थियो । मन्त्री ज्ञवालीका अनुसार, अमेरिकी समकक्षीसँगको फोनवार्तामा कोभिड–१९ ले जारी स्वास्थ्य संकटका माझ एकअर्काले नागरिकको सुरक्षा र सरोकारमा राखेको सदासयताबारे पनि कुराकानी भएको थियो । ‘विदेशमन्त्रीले कोभिड–१९ पछिको स्थितिमा पनि आर्थिक साझेदारी विस्तार गर्न अमेरिकी सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभएको छ,’ मन्त्री ज्ञवालीले भने ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार