कराँचीमा भएको पाकिस्तानी जहाज दुर्घटनाको कारण पत्ता लाग्यो……

पाकिस्तानमा गत महिना ९७ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनाको कारण मानवीय त्रुटी भएको पाइएको एक प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताइएको छ । सो जहाज दुर्घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा सो जहाजको दुर्घटना विमान चालक र एयर कन्ट्रोलका बीचमा समन्वय नभएको र मानवीय त्रुटी भएका कारण यस्तो भएको पाइएको हो । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान गत मे २२ मा पाकिस्तानको कराँची विमानस्थल नजिकैको मानव बस्तीमै खसेको थियो । जसका कारण केही घर पनि ध्वस्त भएका थिए । कराँची विमानस्थल नजिकैको बस्तीमा सो विमान खसेको थियो । त्यस विमानमा रहेकामध्ये ९७ जनाको ज्यान गएको र दुई जना भने बाँचेका थिए । पाकिस्तानका हवाई उड्डयन मन्त्री गुलम सर्वर खानले उक्त विमानका चालक र हवाई कन्ट्रोलर अधिकारीले हवाई उड्डयन सम्बन्धी मापदण्ड पालना नगरेका कारण जहाज दुर्घटनाग्रस्त हुन पुगेको कुरा प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताएका छन् । पाकिस्तानका हवाई अधिकारीका साथै फ्रान्सेली अधिकारीहरु संलग्न अनुसन्धान टिमले सो प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो । मन्त्री खानले उक्त विमानमा कुनै पनि प्राविधिक कारण नरहेको र अरु सबै पक्ष राम्रो देखिएको पनि बताए ।–एएफपी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार