पहाडी जिल्ला पाल्पामा सलहको बास……

भारतीय सीमा क्षेत्रबाट रुपन्देही हुँदै भित्रिएका सलह पाल्पामा बास बसेका छन् । प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीमा शनिबार दिउँसो देखिएका सलह किरा पाल्पामा रोकिएका हुन् । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्यालले सलहका विभिन्न झुण्ड पाल्पामा बास बसेको बताए । ‘आज दिउँसोसम्म दोभानमा मात्र सीमित थियो । मदनपोखरा तथा सराई हुँदै हुल टुक्रा टुक्रा भएर आएको हुनुपर्छ । यो ठूलो संख्यामा हुनसक्छ, ज्ञानकेन्द्र प्रमुख अर्यालले भने, दोभानतर्फ एउटा टुक्रा, वगनाशकालीमा एक टुक्रा, छहरातर्फ एक टुक्रा बास बसेका छन् । हुल टुक्रिएको छ । पानीले गर्दा यीनिहरु टुक्रिएको हुनसक्छ । वडा कार्यालयहरुलाई सतर्कताका लागि भनिएको छ ।’ कृषि ज्ञान केन्द्र प्रमुख अर्याल भन्छन्, बस्न नदिनको लागि हामीले कृषकहरुलाई सूचना प्रवाह गरेका थियौं । बसिसकेकोले यसलाई नेटहरु, बोराहरु प्रयोग गरेर समाएर पनि केही नियन्त्रण गर्न सकिन्छ । पहेंलोले बढी क्षती गर्छ । हुँदै नभए अन्तिम विकल्प विषादी प्रयोग गर्न सकिन्छ । आफ्नो बिरुवा, नर्सरी तथा खेतीपातीमा विशेष सावधानी चाहिन्छ । दिउँसोको समयमा यसले बढी क्षती गर्छ ।’ विज्ञहरुले दक्षिणबाट उत्तरतिर हावाको बहावसँगै नेपालमा सलह आएको बताएका छन् । हावाको यही बहावले तराई क्षेत्रबाट सलहलाई पहाडतिर पु¥याएको पनि उनीहरुले बताएका छन् । शनिबार राती पाल्पाको तानसेन नगरपालिका विभिन्न क्षेत्रमा सलह किरा देखिएका छन् । जिल्लाको तानसेन नगरपालिका, तिनाउँ गाउँपालिका, वगनाशकाली गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र माथागढी गाउँपालिका भित्रका विभिन्न क्षेत्रमा सलह बसेको अनुमान गरिएको छ । सिद्धबाबा क्षेत्रबाट तिनाउ गाउँपालिकाको दोभान क्षेत्र प्रवेश गरेको स्मार्ट कृषि भिलेज तिनाउ–२, झ्याङ्लाका अध्यक्ष चोपलाल गिरीले बताए । उनी भन्छन्, ‘स्थानीयले आगो बालेर धुँवा निकाल्ने, टिन, थाल ठटाउने गरेका छन् ।’ किसानको मकै बारीमा बस्ने, फलफुल, तरकारी, विभिन्न विरुवा जोगाउने विभिन्न उपाय अपनाएका छन् । रुपन्देहीका बिभिन्न स्थानबाट फट्याङग्रा जातको सलहको बथान पाल्पा भित्रिएको हो ।

एक किलो सलहको बिस रुपैयाँ

सलह किरा देखिएपछि प्रदेश नं. ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले किरा नियन्त्रणका लागि तत्काल विशेष पहलकदमी चाल्ने निर्णय गर्दै एक किलो सलह संकलन गरे बापत २० रुपैयाँ अनुदान दिने निर्णय पनि गरेको छ । संकलन गरेको सलह किरा सम्बन्धित पालिका वा वडामा बुझाएपछि तुरुन्त प्रतिकिलो २० रुपैयाँका दरले पैसा भुक्तान गरीने मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले जानकारी दिए । यो किरा दिउँसोमा उड्ने र रातमा एकै ठाँउमा झुरुप्प परेर बस्ने भएकाले सामान्य सावधानी अपनाएर संकलन गर्न सकिने बताए । श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार