चिनियाँ अधिकारीलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध……

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् । पोम्पियोका अनुसार ती चिनियाँ अधिकारीले हङकङको स्वतन्त्रतालाई संकुचित पार्न क्रियाशील भएकाले अमेरिकामा प्रतिबन्ध लगाइएको हो । उनका अनुसार अमेरिकी प्रतिबन्ध पार्टीका वर्तमान तथा पूर्वअधिकारीहरूप्रति लक्षित छ । प्रतिबन्धबाट प्रभावित हुने चिनियाँ अधिकारीहरूको नाम भने उल्लेख गरिएको छैन ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि चीनले हङकङका लागि ल्याउन लागेको सुरक्षा कानुनको विरोध गर्दै चीनलाई दण्डित गर्ने जनाएका थिए । पछिल्लो कदमलाई त्यसैको शृंंखलाका रूपमा हेरिएको छ । बेलायतबाट स्वतन्त्र भएदेखि नै हङकङले त्यस्तो कानुन ल्याउने प्रयास गरेको भए पनि चर्को विरोधका कारण हालसम्म सफल भएको छैन । केही समयअघि अमेरिकी सिनेटमा हङकङको स्वायत्ततालाई अनादर गर्ने व्यक्ति र उनीहरूसँग कारोबार गर्ने व्यवसायीलाई प्रतिबन्ध लगाउने प्रस्तावमा मतदान भएको थियो । पोम्पियोले सिनेटको निर्णयअनुसार नै प्रतिबन्धको घोषणा गरेका अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । चिनियाँ संसद्को बैठकको पूर्वसन्ध्यामा अमेरिकाले चीनका नेताहरूलाई आफ्नो देश प्रवेश गर्न नदिने घोषणा गरेको हो । आइतबार सुरु हुने नेसनल पिपल्स कंग्रेसको स्थायी समितिले हङकङका लागि बनाइएको सुरक्षा कानुनबारे छलफल गर्दै छ । चीनद्वारा प्रस्तावित कानुनमा हङकङमा चीनको अधिकारविरुद्ध गरिने गतिविधि अपराध ठहरिने उल्लेख छ । त्यसका साथै कानुनअनुसार चीनले हङकङमा आफ्ना सुरक्षा निकायहरू स्थापित गर्न सक्नेछ । कानुनका कारण पछिल्ला दिनमा हङकङमा चीनविरोधी प्रदर्शन बढ्दै गएका छन् ।

चीनको प्रतिक्रिया

‘अमेरिकाले त्रुटिपूर्ण निर्णय’ लिएको भन्दै चीनले सच्याउनुपर्ने प्रतिक्रिया दिएको छ । वासिङ्टनस्थित चिनियाँ दूतावासले ‘अमेरिकी पक्षको अन्यायपूर्ण निर्णयहरूको कडा विरोध’ गर्ने जनाएको छ । ट्वीटरमार्फत सार्वजनिक विज्ञप्तिमा दूतावासले अमेरिकालाई तत्काल आफ्ना गल्ती सच्याउन, निर्णय फिर्ता लिन र चीनको आन्तरिक मामलामा हस्तक्षेत नगर्न आग्रह गरेको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार