पोखरामा सरकारविरुद्ध युवाको रिले अनसन……

सरकारले कोरोन संक्रमण रोकथामका लागि प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै राजधानीमा युवाहरुको अनसन चलिरहँदा त्यसकै समर्थनमा पोखरामा पनि युवाहरुले रिले अनसन थालेका छन्। सातजना युवायुवतीले पोखराको मुस्ताङचोकमा विहीबार बिहानदेखि रिले अनसन थालेका हुन्। युवाहरुले पहिलो दिन सातघण्टे रिले अनसन थालेका छन्। स्वतः स्फूर्त भेला भएर आफुहरुले सरकारलाई झक्झकाउने गरि रिले अनसन थालेको युवाहरुले बताएका छन्। राजधानीमा युवाहरुले अनसन थालिरहँदा त्यसको समर्थनमा पोखरामा पनि सामाजिक सञ्जालमार्फत भेला भएर अनसन थालेको उनीहरुले बताए। अनसनमा बसेकी पुनम गुरुङले भनिन, ‘युवाहरुको माग सामान्य हुन्। तर, सरकारले सामान्य मागलाई पनि वेवास्ता गरेको छ।’ कोरोना भाईरस संक्रमण रोक्नका लागि प्रभावकारी कदम चाल्नुपर्ने, क्वारेन्टिन व्यवस्थापन सही तरिकाले हुनुपर्ने, पिसिआर परीक्षणको गति दिनुपर्छ भन्ने युवाहरुको माग रहेको भएपनि सरकारले वेवास्ता गरेको उनले बताए। ‘काठमाडौंमा सत्याग्रहका लागि युवाहरु अनसन बसेको र उनीहरुको समर्थनमा हामी पोखरामा भेला भएर रिले अनसन बसेका हौ,’ उनले भनिन, ‘युवाहरुको मागले समग्र नेपालीको ज्यान बचाउन सघाउने विश्वास छ।’ राजधानीको ललितपुरस्थित पाटनमा पाँचजना युवाहरु सरकारलाई दवाव दिन सातादेखि अनसनमा छन्। खाना र पानीबिनै राजधानीमा युवाहरु सरकारलाई झकझकाउने गरि अनसन बस्दा पनि सरकारले नसुने झैं गरेपछि पोखरामा पनि एकजुट भई रिले अनसन बनेको अर्का युवा सतिश खरालले बताए। पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टिनको उचित व्यवस्थापन हुनुपर्ने सामान्य मागलाई पनि सरकारले नसुनेको उनले बताए। ‘नेपाल मात्र नभई विश्व नै कोरोना विरुद्ध जुधिरहेको छ। यो बेला नेपालमा सरकारको ध्यान पनि कोरोना विरुद्धको लडाईमा हुनुपर्नेमा राजनीतिमा मोडिएको छ,’ खरालले भने, ‘यो बेला जनतालाई बचाउने समय हो। तर, नेताहरु कुर्सीको खेलमा छन्।’ सरकारको ध्यानाकर्षण नभएकोले राजधानीमा अनसनरत युवाहरुलाई साथ दिन पोखरामा आफुहरु तयार भएको उनले बताए। कोरोनाको त्रासमा बसेका व्यक्तिलाई व्यवस्थित क्वारेन्टिनमा राख्नुपर्ने, पिसिआर परीक्षणको दायरा सतप्रतिशत बढाउनुपर्छ भन्दा पनि सरकार तयार नभएको उनले बताए। ‘कोरोनाको यो बेला जीवन बचाउनुतिर ध्यान दिनुपर्नेमा कुर्सीको खेलमा नेताहरु लागिपरेका छन,’ उनले भने, ‘जनताको भन्दा कुर्सीको माया नेताहरुलाई छ। जनता बचाउनेतिर लापरवाहि गरेकोले त्यसको विरुद्धमा युवाहरु उठ्न थालेका छन्।’ युवाहरुले बारम्बार माग राख्दा पनि सरकारले माग पुरा गर्न चासो नदिएको उनले बताए। ‘बारम्बार युवाहरुले माग राख्दा पनि सरकार तयार नभएपछि अनसन बस्न थालेका हौ,’ उनले भने, ‘यो माग पोखरा र काठमाडौंका युवाहरुको मात्र नभई देशैभरका युवाको हो। त्यसैले सरकारले चानचुने नठाने हुन्छ।’ श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार