प्रहरी महानिरीक्षकमा थापाक्षेत्री……

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा शैलेश थापाक्षेत्री नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई २८औं आइजिपी बनाएको हो। कार्यकाल सकिएपछि वर्तमान आइजिपी ठाकुर ज्ञवालीले असार २४ गतेदेखि अनिवार्य अवकाश पाउँदैछन्। ज्ञवालीको कार्यकाल सकिन एकदिन बाँकी छँदा सरकारले थापाक्षेत्रीलाई प्रहरी नियमावलीको परिच्छेद ४ दफा ४१ अनुसार बढुवा गरेको हो। उनले २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व समाल्नेछन्। प्रहरीका एआइजीमध्येबाट ज्येष्ठता, कार्यकुशलता, नेतृत्व गर्ने क्षमतालगायत आधारमा थापाक्षेत्रीको बढुवा भएको गृह मन्त्रालयले जनाएको छ। उनीसँगै एआइजी हरिबहादुर पाल पनि नेतृत्वको दौडमा थिए। थापाक्षेत्री भक्तपुर कटुन्जेमा जन्मिएका हुन्। उनी २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक बनेर नेपाल प्रहरीमा प्रवेश गरेका थिए। उनी प्रहरी सेवामा प्रवेश गर्दा बुवा शम्भु थापा प्रहरी मुख्यालयमा डिआइजी थिए। बुवा माथिल्लो पदको प्रहरी कर्मचारी भएकाले पनि थापाक्षेत्रीलाई अनुशासित बन्ने वातावरण मिल्यो। प्रहरी संगठनबाटै उनलेनिर्भीकतापूर्वक बोल्न र निर्णय लिन सिकेका थिए। प्रहरी बन्नुपूर्व आफूमा त्यस्तो खास ‘स्कुलिङ पावर’ नभए पनि जागिरमा प्रवेशपछि सिकेको उनले बताए। ‘मेरो अभिभावक पनि प्रहरी र मेरो जागिर पनि प्रहरी, त्यसकारण पनि मैले आफूलाई सुधार गर्ने मौका पाएँ,’ उनले भने। आफूलाई कार्यक्षेत्रमा खटिँदा पाएको अनुभवले खारेको उनले बताए। ‘मैले काम र कानुनभन्दा ठूलो अरु कसैलाई मानिनँ, त्यसकारण पनि मूल्यांकन भयो,’ उनले भने। थापाक्षेत्री मीनभवन क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेपछि प्रहरीमा प्रवेश गरेका थिए। पछि उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरे। विभिन्न जिल्लाको प्रहरी इन्चार्ज भएर काम गरेका उनले महानगरीय प्रहरी कार्यालय रानीपोखरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नेतृत्व गर्नुका साथै आइजिपीको सचिवालयमा दुई वर्ष प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। प्रहरी संगठनमा उनी दाग नलागेको अधिकारीका रुपमा चिनिन्छन्। उनलाई व्यावसायिक अधिकृत र स्पष्टवक्ताका रुपमा पनि चिनिन्छ। घटना र अवस्थालाई सहजै व्यवस्थापन गर्न सक्ने खुबी उनीसँग छ। सोचेर निर्णय गर्ने क्षमताका कारण पनि उनलाई धेरैले मन पराउँछन्। नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले नयाँ आइजिपीको मुख्य चुनौती संगठनप्रति प्रहरी कर्मचारीको विश्वास बढाउनु रहेको बताए। उनले सरुवाबढुवा हुँदा हरेक प्रहरीले राजनीतिक पहुँच र शक्ति खोज्नुपर्ने आवश्यकताबाट संगठनलाई टाढा राख्नुपर्ने बताए। ‘अहिले सबैजसो प्रहरीलाई संगठनप्रति हीनता छ। सरुवा बढुवाको बेला हरेक प्रहरीले राजनीतिक अप्ठेरो झेलेका छन्। प्रहरीलाई यस्तो खेलबाट मुक्त गर्न सक्नु अहिलेका आइजिपीको मुख्य कर्तव्य हो,’ मल्लले भने। श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार