पश्चिमाहरुको विरोधलाई अटेर गर्दै चीनले हङकङमा आफ्नो पकड बढाउँदै……

चीनले हङकङमा ‘सुरक्षा कानून’ लागू गरेपछि अहिले चीन र अमेरिकालगायत पश्चिमा देशहरुबीच तनाव चर्किँदै गइरहेको छ । यही स्थितिबीच आज चीनले हंगङमा आफ्नो सुरक्षा कार्यालय खोलेको छ । यो कार्यालयको माध्यमबाट हङकङका चीनका गुप्तचरहरुलाई खुलारुपमा काम गर्न तथा नयाँ सुरक्षा कानूनको अनुगमन गर्न बाटो खुलेको छ । अहिले हङकङमा ‘प्रजातन्त्र समर्थक’हरुद्वारा प्रदर्शन गरिँदै आइएको स्थल नजिकको एक होटेलमा सो कार्यालय खोलिएको छ । सो कार्यालयको उद्घाटन गर्दै हङकङका मुख्य प्रशासक क्यारी लामले उक्त घटना चीनको अर्धस्वायत्त भूमि हङकङको लागि ऐतिहासिक क्षण भएको बनाए छन् । अहिले सुरक्षा कार्यालय बनाइएको पूर्व होटेल मेट्रोपार्कमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै उनले ‘हङकङका वासिन्दाहरुले सुस्पष्ट कानूनी प्रणाली लागू गर्ने तथा हङकङमा राष्ट्रिय सुरक्षालाई कायम गर्ने कार्यमा एउटा कोशेढुंगाको स्थापनालाई अवलोकन गरिरहेको’ बताए । भिक्टोरिया पार्कनजिकको व्यवयायिक क्षेत्रमा स्थापित सो कार्यालयको माध्यमबाट चीनका गुप्तचर अधिकारीहरुले सन् १९९७ मा बेलायतबाट हङकङ चीनलाई हस्तान्तरण भएयता पहिलो पटक हङकङमा खुला र वैधानिक ढंगले काम गर्न पाउने भएका छन् । उक्त कानूनले चीनले निषिद्ध घोषणा गरेका पृथकतावादी गतिविधि, राज्यका निकाय तथा नियमकानुन नमान्ने कार्य, आतंकवाद र विदेशीसँगको साँठगाँठलाई निषेध गर्दछ । त्यसअनुसार, अहिले स्थापित गरिएको कार्यालयले सो सुरक्षा कानूनलाई त्यस किसिमका गम्भीर घटनाहरुका विरुद्ध बल प्रयोगको अधिकार प्रदान गर्दछ । यसले गुप्तचर अधिकारीहरुलाई त्यस किसिमका घटनामा संलग्न भएका आशंका गरिएकाहरुलाई अनुसन्धानका लागि पक्राउ गरेर मुख्य भूमि चीनमा लैजान तथा त्यहाँ मुद्दा चलाउने अधिकार प्रदान गर्दछ । त्यसबाहेक, हङकङका अधिकारीहरुले पनि ती गुप्तचर अधिकारीको कामकारवाहीमा हस्तक्षेप गर्न तथा उनीहरुको सवारीहरुको खानतलासी गर्न पाउँदैनन् ।यो नयाँ व्यूरो खोलिएपछि हङकङका अधिकारीहरुले स्कुलका विद्यार्थीहरुलाई ‘ग्लोरी अफ हङकङ’ गाउन प्रतिबन्ध लगाइएको जनाएका छन् । उक्त गीतलाई हङकङको प्रतिरोधी आन्दोलनको अनौपचारिक राष्ट्रिय गान मान्ने गरिन्छ । त्यसबाहेक, हङकङमा राजनीतिक सन्देश दिनेखालका गीतहरु गाउन पनि प्रतिबनध लगाइउको छ । हङकङका शिक्षा सचिव केभिन युङले विद्यार्थीहरुले कक्षा वहिष्कार गर्ने, नाराहरु लगाउने तथा मानव साङ्लो बनाउने कार्यमा सहभागी हुन नहुने बताएका छन् । कार्यालय उद्घाटन समारोहमा कार्यालयका नवनियुक्त प्रमुख झेङ यान्जियोङ तथा शहरका लागि चीनका प्रमुख लियोजन पदाधिकारी लुओ हुइनिङ पनि सहभागी थिए । त्यसअवसरमा लुओले नयाँ कार्यालय हङकङको सुरक्षाको लागि प्रतिनिधि तथा शहरमा राष्ट्रिय सुरक्षाको लागि पहरेदार भएको बताएका थिए । ‘खराब उद्देश्य भएका र हङकङमा अस्थीरता फैलाउन चाहने चीन विरोधीहरुले कार्यालयको विरोध मात्र गरेका छैनन्, उनीहरुले मुख्य भूमि चीनको कानून व्यवस्था एवं कानूनको शासनलाई पनि खल्बलाएर हङकङवासीहरुमाझ अनावश्यक डर चिन्ताको वातावरण पैदा गर्ने कोशिश गरिरहेका छन्,’ उनले भने । नवनियुक्त प्रमुख झेङले ‘कुनै पनि व्यक्ति वा संस्थाको वैधानिक अधिकार र स्वार्थलाई हनन नगरी’ कडाइका साथ कानून लागू गर्ने बताए । अहिले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गरिएको घटनालाई सन् १९९७ मा बेलायतले चीनलाई हङकङ फिर्ता गरे यताकै सबैभन्दा कठोर कदम मानिएको छ । त्यसबेला ‘हङकङमा एक देश, दुई प्रणाली’को मान्यताअनुसार हङकङको स्वायत्तता र स्वतन्त्रता रहेन प्रत्याभूति गरिहेको थियो । अहिलेको कानूनले त्यसलाई खतरामा पारेको आरोप, बेलायत, अमेरिकालगायत पश्चिमा देशहरुले लगाउँदै आएका छन् । अहिले फेसबुक, माइक्रोसफ्ट, गुगल, ट्वीटर र जुम जस्ता अमेरिकी कम्पनीहरुले आफ्ना प्रयोगकर्ताहरुको तथ्यांक हङकङका अधिकारीहरुलाई दिने कार्य निलम्बन गरेको घोषणा गरेका छन् । कतिसम्म भने चिनियाँकै स्वामित्व रहेको तथा चीन बाहिरमात्रै सञ्चालन हुने चर्चित सामाजिक सञ्जाल टिकटकले पनि केही दिनमै हङकङको बजारबाट बाहिरिने घोषणा गरेको छ । यसको अर्थ अब मुख्यभूमि चीनमा जस्तै हङकङका वासिन्दाले पनि टिकटकको प्रयोग गर्न पाउने छैन । अमेरिकाले हङकङलाई दिँदै आएको विशेष कानूनी स्थानलाई हटाउने क्रम थालिसकेको छ । अहिले वाशिंगटनले हङकङलाई विश्वको आर्थिक केन्द्रको रुपमा मान्यता दिन छोडेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उच्च सल्लाहकारले हिजो मात्रै हङकङको मुद्रालाई डलरको दाँजोमा अवमूल्यन गर्नुपर्ने बताइसकेका छन् । स्रोतः अलजजिरा (रापा)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार