कोरोना संक्रमितको संख्या किन घटिरहेको छ?……

नेपालमा केही दिन यता कोरोना संक्रमितको संख्या घटिरहेको देखिन्छ । बिहीबार २४ घण्टामा मात्रै १०८ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै हालसम्म संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । बुधबार २४ घण्टामा २०४ संक्रमित थपिएका थिए । केही दिनअघिको तथ्यांक हेर्ने हो भने संक्रमितको संख्या घटिरहेको देखिन्छ । विगत १० दिनको तथ्यांक केलाउँदा असार १९ गते २४ घण्टामा संक्रमितको संख्या अहिलेसम्मकै धेरै ७७४ थियो । त्यसकाे भोलीपल्ट नै असार २० गते २३२ जनामा मात्रै संक्रमण देखिएको थियो । त्यसपछि संक्रमितको संख्यमा खासै बढोत्तरी भएको देखिँदैन ।
यस्तै पीसीआर परीक्षणको संख्या पनि हरेक दिन घट्दै गएको समेत देखिन्छ ।

परीक्षणमा कमी ?
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि परीक्षणको दायरालाई बढाएर दैनिक १० हजार पुर्‍याउने घोषणा गरेका थिए । मन्त्री ढकालले दैनिक १० हजार परीक्षण गर्ने भनेको दिनमा हालसम्मकै धेरै ७ हजार ७९१ परीक्षण भएको थियो । तर, त्यसपछि भने परीक्षणको कुल संख्याले रेकर्ड कायम गर्न सकेको छैन । केही दिनयता दैनिक परीक्षणहरु ४ हजार आसपास मात्रै भइरहेको छ । बिहीबारकै तथ्यांक हेर्ने हो भने २४ घण्टामा ४ हजार ५ सय ८८ पीसीआर परीक्षणहरु भएका देखिन्छ । मन्त्रालयका अनुसार क्वारेन्टाइन तथा आइसोलेसनमा बस्ने मानिसहरुको संख्या घटिरहेको कारणले गर्दा परीक्षणको दायरा केही घटेको हो । बिहीबारसम्म प्रदेश १ मा २ हजार ८५०, प्रदेश २ मा २ हजार ९९०, बाग्मती प्रदेशमा १ हजार ९०७, गण्डकी प्रदेशमा ४ हजार २५० , प्रदेश ५ मा ५ हजार २४०, कर्णाली प्रदेशमा १ हजार ८९९ र सुदुरपश्चिममा ५ हजार २८९ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसका साथै आइसोलेसनमा प्रदेश १ मा १९६, प्रदेश २ मा २ हजार २४ , बाग्मती प्रदेशमा ४२९, गण्डकी प्रदेशमा ८६२ , प्रदेश ५ मा १ हजार ७२७, कर्णाली प्रदेशमा ४०५ र सुदरपश्चिममा २ हजार ९६२ रहेका छन् । त्यसैगरी निको हुनेको संख्यामा पनि वृद्धि भएको देखिन्छ । बिहीबारसम्म निको भएर घर फर्किनेको संख्या ७ हजार ८९१ पुगेको छ । परीक्षणको दायरा साँघुराे बनाइएकै कारण संक्रमित देखिनेको संख्या घटिरहेको हो भनेर टिकाटिप्पणी हुन थाले पनि मन्त्रालयले भने भारतीय सीमाबाट नेपाल प्रवेश गर्नेको संख्यामा नै कमी आएकाले त्यस्तो देखिएको दाबी गरेको छ । ‘केही दिन यता संक्रमितको संख्या घट्नुको कारण स्वास्थ्य निकायको व्यवस्थापन र बोर्डरमा गरिएको आवजावतमा कडाइले गर्दा हो,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘कोरोना संक्रमण घट्दै जाँदा जनजीवन सामान्यीकरणमा जान थालेको र जनमानसमा सर्तकता कम हुँदै गएको, भिडभाड हुँदै गएको देखिन्छ । तर, संक्रमितको संख्या घट्नु भनेको कोरोना संक्रमणको जोखिम घट्नु होइन । कोरोना रोकथामको उपायलाई निरन्तरता दिए मात्र कोरोनाबाट बच्न सकिन्छ ।’ जनस्वास्थ्य प्रयोगशाालाका एक अधिकारीका अनुसार क्वारेन्टाइनमा मान्छे कम भएसँगै केही दिन यता नमुना संकलनमा पनि कमि आएको छ । त्यसैले गर्दा संक्रमितको संख्या पनि घटेको हो ।

५ जिल्ला ‘कोरोना फ्री’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ५ वटा जिल्लामा कोरोना संक्रमण शुन्यमा देखिएको छ । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लालाई ‘कोरोना फ्री’ जिल्ला भनिएको छ । त्यसैगरी ५०० भन्दा बढी संक्रमित देखिएको जिल्ला भनेका महोत्तरी ,रौटहट, पाल्पा, अछाम ,कैलाली र बाजुरा रहेका छन् । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार