सन् २०२१ अघि कोरोना खोप बन्ने सम्भावना छैन : डब्लूएचओ……

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको बताएको छ । डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख डाक्टर माइकल ऱ्यानले अनुसन्धानकर्ताहरुले खोप निर्माणमा सफलता प्राप्त गरिरहे पनि तत्काल यो प्रयोगमा आउने सम्भावना नरहेको बताएका हुन् । कोरोनाविरुद्धको खोप निर्माणमा ढिलाइ नै भए पनि सुरक्षाका हिसाबले कुनै कमीकमजोरी हुन नहुने पनि उनले बताए । ‘खोप निर्माणमा हामीले राम्रो सफलता प्राप्त गरिरहेका छौं,’ केही खोपले तेस्रो तहको परीक्षण पनि पार गरेको डाक्टर ऱ्यानले बताए । साथै यी खोपहरु सुरक्षा मापदण्डका हिसाबले अहिलेसम्म विफल पनि नभएको उनले बताए । ‘आम सर्वसाधारणमा प्रयोग गर्नुभन्दा पहिले हामीले ती खोप सुरक्षित र प्रभावकारी रहेको कुरा सुनिश्चित गर्नुपर्छ । यसका लागि हामीलाई केही समय लाग्न सक्छ । वास्तविक अवस्था हेर्ने हो भने अर्को वर्षको ६ महिनासम्ममा हामीले सर्वसाधारणलाई खोप दिने सम्भावना रहेको छ,’ उनले भने । विश्वका विभिन्न देशमा कोरोनाविरुद्धको खोप परीक्षण सफल भइरहेको दाबी गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले आफूले निर्माण गरेको खोप सुरक्षित र प्रभावकारी भएको दाबी गरेको छ । त्यस्तै रुसको सेचनोव विश्वविद्यालयले पनि स्वयंसेवकमा गरिएको परीक्षणमा आफूले निर्माण गरेको कोरोनाविरुद्धको सफल भएको दाबी गरेको छ । मिसिगन विश्वविद्यालयमा संक्रामक रोगका प्राध्यापक अब्री गोर्डनले सुरुवाति परीक्षणमा प्राप्त सफलताले आशावादी हुने ठाउँ रहेको बताइन् । ‘फेज १ र २ को परीक्षणले निकै नै आशावादी हुने ठाउँ रहेको छ,’ उनले भनिन् । त्यस्तै जोन्स होप्किन्स विश्वविद्यालयमा सोधकर्ताका रुपमा कार्यरत अमेश अदाल्जाले अहिले निष्कर्षमा पुग्न नसकिए पनि कोरोनाविरुद्धको खोप निर्माण हुनेमा आफू आशावादी रहेको बताउँछन् । ‘मलाई विश्वास छ कि हामीले कोभिड–१९ विरुद्धको खोप पाउनेछौं । तर कुसले बनाएको खोप सफल हुन्छ भन्नेचाहिँ अहिले नै भन्न सकिने अवस्था छैन ।’ श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार