अक्टोबरमा नागरिकलाई कोरोनाको भ्याक्सिन दिने योजनामा रुस……

रुसी सरकारले अक्टोबर महिनामा नागरिकलाई कोरोनाभाइरसको भ्याक्सिन दिने योजना बनाइरहेको स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले जानकारी दिएका छन् । यसका लागि विस्तृत खोप अभियान चलाउने तयारी गरिएको उनले बताए ।मिखाइल मुराश्कोलाई उद्धृत गर्दै रुसी मिडियाले सबैभन्दा पहिले त डाक्टर र शिक्षकलाई कोरोना भ्याक्सिन दिइने जानकारी दिएको छ । समाचार एजेन्सी रोयटर्सले नाम नखुलाईएको स्रोतलाई हवाला दिँदै रुसको सम्भावित कोरोना भ्याक्सिनलाई यो महिना नियामक निकायले मञ्जुरी दिनेछ । यद्यपि, तीब्र गतिमा कोरोना भ्याक्सिन बनाउने रुसको कोसिसको विषयमा धेरै विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । शुक्रबार अमेरिकामका संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले रुस र चीनले आफ्ना नागरिकलाई कोरोना भ्याक्सिन दिनु अघि यससँग जोडिएका सबै परीक्षण वास्तविक रुपमा नै गरिरहेका छन् भन्ने कुराको आशा गरिरहेको बताएका छन् । डाक्टर फाउचीले भनेका छन्, ‘यो वर्षको अन्त्यसम्म अमेरिकासँग सुरक्षित र प्रभावकारी कोरोना भ्याक्सिन उपलब्ध हुनेछ ।’ उनले भने, ‘मलाई लाग्दैन कि कोरोना भ्याक्सिन मामिलामा आधुनिक भ्याक्सिनका लागि हामीले कुनै अन्य देशमा निर्भर हुनु पर्नेछ ।’

थुप्रै स्थानमा चलिरहेको छ भ्याक्सिन बनाउने कामः

हाल संसारभरीका थुप्रै देशमा कोरोना भाइरसको भ्याक्सिन बनाउने काम तीब्र रुपमा अघि बढिरहेको छ र करिब २० भ्याक्सिनको क्लिनिकल ट्रायल पनि सुरु भइसकेको छ । इन्टरफेक्स न्यूज एजेन्सीका अनुसार रुसी स्वास्थ्यमन्त्रीले मस्कोमा रहेको गामालेया इन्स्टिच्यूटले कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायलको काम पूरा गरिरहेको र अब यो यसलाई रजिस्टर गर्नका लागि कागजी प्रक्रियामा व्यस्त भएको जानकारी दिएका छन् । स्वास्थ्यमन्त्रीले भनेका छन्, ‘हामी अक्टोबरमा खोप अभियानको योजना बनाइरहेका छौं ।’ अघिल्लो महिना रुसी वैज्ञानिकले गामालेया इन्स्टिच्यूटले एड्रेनोवायरस बेस्ड कोरोना भ्याक्सिनको सुरुवाती ट्रायल पूरा गरिसकेको छ र यसको नतिजा सकारात्मक भएको बताएका थिए । अघिल्लो महिना नै ब्रिटेन, अमेरिका र क्यानडाका सुरक्षा एजेन्सीले रुसको एक ह्याकिङ समूहमाथि कोरोना भ्याक्सिनको कामका जुटेको संस्थामाथि साइबर हमला र जानकारी चोरेको आरोप लगाएका थिए । स्रोतः बीबीसी(रापा)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार