प्रचण्डसँग जेरीजस्तै गुलियो ‘मिटिङ’ भयो…..

काठमाडौं । सोमबार प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली अचानक बालकोटस्थित निजी निवास पुगे । ओली किन निजी निवास गए भन्ने प्रश्नको जवाफ स्पष्ट छैन । यदि ओलीलाई नै यो प्रश्न गर्ने हो भने कस्तो जवाफ आउथ्ँयो होला ? सायद उनले यसको जवाफ ठट्यौली पाराले नै दिन्थे होलान्– ‘घर किन जान्छन् मान्छे, थाहा छैन ?’ ओली निकट सहयोगीहरुका दावीअनुसार लामो समय बालुवाटारमा रहेकाले आफ्नो घरको हेरचाह गर्न सोमबार उनी बालकोट पुगेका हुन् । झण्डै सवा घण्टा बालकोटमा बिताएर बालुवाटार फर्किएका ओलीले घरको चोटाकोठा चहार्न भ्याए । त्यतिमात्रै होइन बगैँचा र फलफूलका बोटविरुवा समेत रुचिपूर्वक नियाले । ‘पत्नी राधिका शाक्यसहित अचानक आउनुभएको हो, सवा घण्टा बसेर फर्कनुभयो’, प्रधानमन्त्रीमा निर्वाचित भएर बालुवाटार सरेपछि ओलीको घरमा बस्दै आएका काभ्रेका सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले रातोपाटीसँग भने, ‘उहाँ (प्रधानमन्त्री) बालकोट आउने कुरा मलाई अन्तिम समयमा मात्रै थाहा भयो ।

जेरीजस्तै गुलियो मिटिङ !

ओली बालकोट पुगेपछि भक्तपुरकै सांसद महेश बस्नेत पनि पुगेका थिए । अन्यसँगको भेटघाट सकेर ओलीले बस्नेत र बाँस्कोटालगायतसँग राजनीतिक गफगाफ गरेका थिए । त्यसक्रममा बाँस्कोटाले चासोपूर्वक पार्टीभित्रको विवाद र सोमबार बिहान प्रचण्ड लगायतसँग भएको मिटिङबारे प्रश्न गरेका थिए । सो क्रममा ओलीले सोमबार बिहानको वार्ता जेरीजस्तै गुलियो भयो भनेर ठट्टा गरेका थिए । मैले आजको मिटिङ कस्तो भयो ? भनेर प्रश्न गर्दा उहाँले ठट्यौलीमा पारामा ‘तात्तातो जेरीजस्तै गुलियो’ भन्ने जवाफ दिनुभयो’ बाँस्कोटाले ओलीसँग भएको संवादका केही अंश सुनाए । गुलियो भनेपछि कुरा मिलेको हो भन्ने बाँस्कोटालाई लाग्यो । त्यसपछि कुरा मिलेको हो त ? भन्ने दोस्रो प्रश्न उनले दोहोर्याए । जवाफमा ओलीले भने, ‘कुरा ठिकै भयो । तर अवस्था जस्ताको तस्तै छ । यति कुराकानी हुँदा झण्डै १२ बज्न लागिसकेको थियो । पत्नि राधिका शाक्यले जानबेला भएको संकेत गरेपछि बाँस्कोटाले फेरि अर्को प्रश्न गरे, ‘आज त अचानक आउनुभयो, अब कहिले आउनुहुन्छ ?’ ओलीले छोटो जवाफ दिए, ‘अब साढे २ वर्षपछि ।’ फेरि सहभागीहरुबीच हाँसोको फोहोरा छुटेको थियो । अर्थात ओलीले आफू नेतृत्वको सरकार ५ वर्षसम्मै जाने र कसैले ढाल्न नसक्ने उनको संकेत थियो । सोमबार बिहान बालुवाटारमा अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डसहतिका नेताहरुसँगको वार्ता सकेर ओली बालकोट पुगेका हुन् । स्रोतः रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार