पहिलो चरणकाे कोरोना खोप उत्पादन गरिसक्यौं, छिट्टै बजारमा आउँछ : रुस……

रुसले पहिलो चरणअन्तर्गत कोरोना खोप उत्पादन गरिसकेको जनाएको छ । इन्टरफेक्स न्युज एजेन्सीका अनुसार रुसी स्वास्थ्य मन्त्रालयले पहिलो खेप खोप उत्पादन गरिसकेको जानकारी दिएको हो । रुसले अब यही महिना (अगस्ट) को अन्त्यसम्ममा कोरोना खोप बजारमा आउने बताएको छ । यो नै विश्वमा कोरोनाविरुद्धको पहिलो खोप हुने दाबी उसले यसअघिदेखि नै गरिरहेको छ । तर रुसको स्वास्थ्य मन्त्रालयले खोपको तेस्रो चरणको परीक्षण हुनुअघि नै उत्पादनका लागि स्वीकृति दिएको हो । तेस्रो चरणको परीक्षणमा हजारौं मानिसलाई खोप लगाइनेछ भने यस चरणको परीक्षण नै उत्पादनका लागि अनुमति प्राप्त गर्ने सवालमा महत्वपूर्ण हुन्छ । तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्पादन सुरु गर्नुअघि नै आफ्नो देशले बनाएको कोरोनाविरुद्धको खोप पूरै सुरक्षित र प्रभावकारी रहेको तथा आफ्नी छोरीलाई समेत लगाउँदा राम्राे काम गरेकाे दाबी सार्वजनिक गरिसकेका छन् । रुसले खोपको नाम स्पुतनिकफाइभ राखेको छ । यो अन्तरीक्षमा पठाइएको विश्वको पहिलो उपग्रहको नाम हो । जुन रुसले नै बनाएको थियो । केही वैज्ञानिकले भने रुसले यसरी द्रुत गतिमा खोप उत्पादन गर्ने क्रममा स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरेन कि भनेर चिन्ता जाहेर गरेका छन् ।तर रुसले यस्तो आशंका आधारहीन भएको भन्दै खण्डन गरिसकेको छ । समाचार एजेन्सी इन्टरफेक्सका अनुसार उक्त खोप विकास गर्ने मस्कोस्थित ग्यामेला इन्स्टिच्युटले रुसले डिसेम्बर–जनवरीसम्म महिनाको ५० लाख खोप उत्पादन गर्न सक्ने जनाएको छ । स्रोत:  एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार