कोरोना महामारी २ वर्षभन्दा कम समयमै नियन्त्रण हुनसक्छ : डब्लूएचओ……

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले २ वर्षभन्दा कम समयमै विश्वले कोरोना भाइरसको महामारीबाट छुटकारा पाउने सम्भावना रहेको बताएको छ । शुक्रबार जेनेभामा भएको पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको महामारी ‘स्पेनिस फ्लू’ को महामारीभन्दा छिटो नियन्त्रणमा आउने बताएका हुन् । महानिर्देशक गेहब्रेयससले अहिलेको आधुनिक प्रविधिका कारण भाइरसको नियन्त्रण छिटो हुनेमा आफू आशावादी रहेको बताए । ‘विश्वव्यापीकरणका कारण भाइरस तीव्र रुपमा फैलिने सम्भावना अवश्य छ तर त्यसैगरी हामीसँग भएका प्रविधि र ज्ञानले यसलाई रोक्न सकिनेछ,’ उनले भने, ‘तर यसका लागि राष्ट्रिय एकता र विश्वव्यापी ऐक्यबद्धताको आवश्यकता पर्छ ।’ सन् १९१८ को स्पेनिस फ्लूका कारण करिब ५ करोड मानिसको मृत्यु भएको थियो । त्यसको करिब आधा त भारतमै मृत्यु भएको थियो । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म विश्वभर ७ लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै यस भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड २६ लाख नाघेको छ ।

‘महामारीका बेला भ्रष्टाचार गर्ने अपराधी हुन्’

महामारीका बेला व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) लगायतका स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्ने व्यक्तिहरु अपराधी भएको पनि डाक्टर टेड्रोसले बताए । विभिन्न देशमा स्वास्थ्य सामग्री खरिद र वितरणमा भएको अनियमितताबारे सोधिएको प्रश्नमा उनले भने, ‘कुनै पनि प्रकारको भ्रष्टाचार सहन सकिँदैन । तर मेरा लागि पीपीईमा गरिएको भ्रष्टाचार हत्यासरह नै हो । पीपीई नभए स्वास्थ्यकर्मीको ज्यान र उनीहरुले सेवा दिने नागरिककै ज्यान जोखिममा पर्न सक्छ ।’ डाक्टर ट्रेडोसलाई दक्षिण अफ्रिकामा स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचारका विषयमा प्रश्न सोधिएको भए पनि पछिल्लो पटक थुपै देशमा उस्तै समस्या देखिएको छ । शुक्रबार मात्रै केन्याको राजधानी नैरोबीमा भ्रष्टाचार र स्वास्थ्यर्मीले पारिश्रमिक नपाएको तथा पीपीई नपाएको भन्दै प्रदर्शन भएको थियो । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार