उपत्यकामा पसल व्यवसाय खोल्न बार ताेकियो, अरु के–के खुला गरियो ?……

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाएर जनजीवन सहज बनाउने प्रयास गरिएको छ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएकोमा बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेको हो । अघिल्लो साता पनि निषेधाज्ञामा केही हेरफेर भएकोमा बुधबार थप खुकुलो बनाइएको हो । जसअनुसार आज मध्यरातदेखि भदौ ३१ गते मध्यरातसम्मका लागि लागू हुने गरी विभिन्न निर्णय भएका छन् । ,जसअनुसार खुल्ला स्थानमा भिडभाड हुन, भेला हुन तथा जुलुस गर्न रोक लगाइएको छ भने नित्य पूजापाठबाहेक धार्मिकस्थलमा अन्य गतिविधि सञ्चालनमा रोक लगाइएको छ । यस्तै भिडभाड हुने उद्योग कलकारखाना, व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्डविपरित हुने क्रियाकलाप गर्न पनि निषेध गरिएको छ । यसैगरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सुरक्षा मापदण्डविपरित श्रमिकको ओसारपसार गर्न, सभा, गोष्ठी, तालिम, सेमिनार सिनेमा हल, पार्टी प्यालेस, सैलुन ब्यूटी पार्लर, चिडियाखाना सञ्चालनमा पनि रोक लगाइएको छ ।

ट्याक्सी चलाउन दिने निर्णय

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकाभित्र १६ सिट क्षमतामाथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । साथै भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनीका बालबालिका २ जना राखी चलाउन सकिनेछ । यस्तै निजी सवारीसाधनहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने पनि उपत्यकाका सीडीओहरुको संयुक्त बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ । यसरी सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधन सुरक्षा मापदण्ड पालना गर्दै जोरबिजोरका आधारमा सञ्चालन गर्न पाइनेछ । तर मालबाहक सवारी साधनको हकमा भने जोरबिजोर लागू हुने छैन ।

अरु के–के मा छुट ?

उपत्यकामा पसल व्यवसाय सञ्चालन गर्न बार तोकिएको छ । जसअनुसार अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि बिक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न सकिने निर्णय प्रशासनको छ । यस्तै खाद्य वस्तु, दूध, फलफूल तरकारी, माछा मासु, विक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । यस्तै निर्माणसँग सम्बन्धित सामग्री बिक्री वितरण गर्ने पसल दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खोल्न सकिने छ भने टेक अवे सेवाका साथै अनलाइन डेलिभरी सेवा स्वास्थ्य मापदण्ड पूरा गरी मध्यान्ह १२ देखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने छ। यस्तै सहकारी संस्थाहरु बिहान ११ देखि ३ बजेसम्म, सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ भने भाँडा र भान्साजन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइनेछ । यस्तै फर्निचर र अटो मोबाइलसम्बन्धी पसल सातामा सोमबार र बुधबार मात्र खोल्न सकिनेछ । यसैगरी फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसल, इलोक्ट्रोनिक र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र फेरि बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ । यस्तै सवारीसाधन मर्मत सम्बन्धी वर्कसप बिहान ८ देखि राति ८ बजेसम्म खोल्न सकिनेछ । स्रोत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार