भारतसँगको सीमा क्षेत्रबाट तत्काल सेना हटाउन चीनको प्रस्ताव……

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन सरकार भारतसँगको सीमा विवाद कम गर्न तयार रहेको बताएका छन् । विदेशमन्त्री वाङले चिनियाँ सरकार वास्तविक नियन्त्रण रेखामा भारतसँगको तनाव कम गर्न ‘ठोस कदम चाल्न’ इच्छुक रहेको बताए । भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको भोलिपल्ट विदेशमन्त्री वाङले सो कुरा बताएका हुन् । विदेशमन्त्री वाङ र भारतीय समकक्षी एस जयशंकरबीच बिहीबार रुसको राजधानी मस्कोमा भेटवार्ता भएको थियो । सो भेटवार्तामा दुई देशबीचको सीमा विवादको समस्या समाधान गर्ने विषयमा छलफल भएको बीबीसीले जनाएको छ । शुक्रबार मस्कोमा रसियन विदेशमन्त्री सर्गेई लावरोवसँगको संयुक्त प्रेस सम्मेलनमा बोल्दै चिनियाँ विदेशमन्त्री वाङले वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना र सैनिक सामाग्री तत्काल हटाउनुपर्नेमा जोड दिए । उनले भने- ‘दुबै ब्रिक्स सदस्य देश चीन र भारतले लगातार तनावका विषयमा छलफल गरिरहेका छन् । मैले यो कुरा भारतीय विदेशमन्त्री एस जयशंकरसँग राखेको छु, भारतका अन्य सुरक्षा अधिकारीहरुसँग पनि कुरा गरेको छु । यसबारेमा हामी दुई देशका समकक्षीबीच हिजो लामो कुराकानी भएको छ । भारतीय विदेशमन्त्रीले शान्ति कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हामी वार्ताबाटै समस्याको समाधान गर्न चाहान्छौ । यो मामलालाई बढाउन चाहादैनौं । यसका लागि हामी ठोस कदम चाल्न तयार छौं । सबैभन्दा जरुरी भनेको नयाँ उल्लंघन हुनुहुँदैन । त्यसका लागि तत्काल सेना, हतियार र युद्ध सामाग्रीहरु वास्तविक नियन्त्रण रेखाबाट हटाउनुपर्छ ।’ दुबै देशका विदेशमन्त्री सांघाई सहयोग संगठनको बैठकमा भाग लिन रुसको राजधानी मस्को पुगेका हुन् । स्रोत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार