पिसिआर रिपोर्टसँगै भाइरल लोड…..

सरकारले अन्ततः आरटी पिसिआर रिपोर्ट दिँदा भाइरल लोडको समेत जानकारी दिने भएको छ। हालसम्म यो विधिअन्तर्गत परीक्षण गरेपछि पोजेटिभ वा नेगेटिभ भनेर नतिजा दिइन्थ्यो, संक्रमितमा भाइरसको मात्रा कति छ भन्ने तथ्य रिपोर्टमा उल्लेख गरिदैन्थ्यो। प्राविधिक रुपमा भाइरल लोडलाई साइकल थ्रेसहोल्ड (सिटी) ‘भ्यालु’ को रुपमा मापन गरिन्छ। ‘अबदेखि आइटी पिसिआर परीक्षण नतिजा दिँदा सिटी भ्यालुसमेत उल्लेख गरेर दिन प्रयोगशालालाई सूचना गरेका छौं,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित पत्रकार सम्मेलनमा भने। विज्ञका अनुसार कोरोना पोजेटिभमा भाइरल लोड बढी अथवा कम रहेको सूचना विभिन्न हिसाबले उपयोगी मानिन्छ। यो ‘भ्यालु’ ले संक्रमितमा भाइरसको उपस्थितिको मात्रा थाहा हुने भएकाले संक्रमणको अवस्था र उपचारका लागि आवश्यक क्लिनिकल निर्णय लिन सहयोग पुग्छ। यसले सबैभन्दा बढी संक्रामक ‘सुपर स्प्रेडर’ लाई पहिचान गरेर महामारी नियन्त्रण गर्न पनि सहयोग गर्छ। नेपालका सबै प्रयोगशालाले आरटी पिसिआर परीक्षण गर्दा यो तथ्यांक स्वतः आउँछ। तर यसअघि यो सूचना सरकारी कार्यालय र प्रयोगशालाका ‘लग बुक र मेसिन’ मा मात्र सीमित थियो। बिरामीको उपचार र अनुसन्धानमा यसको खास उपयोग भएको थिएन। ‘सिटी भ्यालुको उल्लेख गर्दा आरटी पिसिआरको विश्वसनियता बढ्छ र यो धेरै हिसाबले उपयोगी छ,’ प्रवक्ता गौतमले नागरिकसँग भने। अन्तर्राष्ट्रिय रुपमा सामान्यतया ३५ अंकभन्दा माथि रहे कम भाइरल लोड र ३५ भन्दा जति कम हुँदै गयो त्यति नै बढी भाइरल लोड भएको मानिन्छ। अन्तर्राष्ट्रिय रुपमा ‘स्ट्यान्डर्ड टेष्ट’ मानिएको आरटी पिसिआरले संक्रमितको पहिचान गरे पनि वास्तवमा ती संक्रमितले तुलनात्मक रुपमा फरकफरक हिसाबले भाइरसको प्रसारण गर्छन् भन्ने मानिँदै आएको छ। विश्वमा गरिएका अध्ययन अनुसन्धानका विस्तृत विश्लेषण अर्थात् ‘मेटा एनलाइसिस’ ले भाइरल लोड जति कम देखियो त्यति नै बिरामीमा गम्भीर अवस्था थपिने देखाएको त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजीका प्राध्यापक डा. प्रकाश घिमिरे बताउँछन्। ‘सरकारको बुधबारको निर्णय स्वागतयोग्य हो, यसले सम्बन्धित प्रयोगशालाले परीक्षण गरेको भन्ने पुष्टि हुनेछ र परीक्षणको गुणस्तर र विश्वसनियता पनि बढनेछ,’ घिमिरे भन्छन्। भाइरसको आरएनएलाई पत्ता लाग्ने स्तरमा पु¥याउन आरटी पिसिआर विधि प्रयोग गरिएको हुन्छ। यो विधिअन्तर्गत भाइरसमा रहेको न्युक्लिक एसिडको उपस्थिति पत्ता लगाउन प्रतिदीप्तिशील संकेत (फ्लोरोसेन्ट सिगनल) उपयोग गरिन्छ। मेसिनको आधारबिन्दु पार गरेर यो संकेत देखाउनका लागि आवश्यक पर्ने प्रक्रिया अर्थात् ‘साइकल’ को मापन सिटी भ्यालुले गरेको हुन्छ। सिटीको थोरै ‘भ्यालु’ लाई अधिक भाइरल लोड मानिन्छ। तर यो ‘भ्यालु’ परीक्षणमा प्रयोग हुने मेसिन, रसायन र नमुना संकलन विधि, नमुना संकलन गर्दा लाग्ने समय तथा नमुना ढुवानी गर्दाको तापक्रममा भर पर्ने मानिन्छ। स्रोत:  एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार