उपत्यकामा कोरोना जोखिम, सरकारले हात उठायो, आफैं सचेत बनौं…..

३१ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको भन्दै तीन सातासम्म निषेधाज्ञा घोषणा गरेका काठमाडौंका तीनै जिल्ला प्रशासन कार्यालयले बिहीबार खुकुलो आदेश जारी गरेका छन् । अब निशेष गरिएका गतिविधिको सूचीलाई ५ बुँदामा झारिएको छ । तर जनप्रतिनिधि र विज्ञहरुले भने प्रशासनको खुकुलो नीतिप्रति चिन्ता प्रकट गरेका छन् । अब उपत्यका बाहिरबाट आउनेहरु सवारी साधनमा जोर-बिजोर लागू नहुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् । यता, संघीय सरकारले सोमबारको क्याबिनेट निर्णयबाटै उपत्यकामा अत्यावश्यक सेवा, कार्यालय, आवत-जावत र ढुवानी सेवा बाहेकका सवारी साधनलाई जोर-बिजोर लागू हुने भनेको छ । गृह मन्त्रायलका प्रवक्ता चक्रबहादुर बुढा सार्वजनिक यातायात चलेपछि पीसीआर जाँच गरिराख्न सम्भव नहुने बताउँछन् । संघीय सरकारले धार्मिकस्थलहरुमा भिडभाड गर्न, सभा, गोष्ठीहरु गर्न र शैक्षिक संस्थाहरु खोल्न रोक लगाएको छ । साथै मनोरञ्जनस्थल, सैलुन, व्यटीपार्लरहरु नचलाउन, खेल गतिविधि नगर्न, पुस्तकालय एवं संग्रहालयलगायत सञ्चालन नगर्न भनेको छ । संघीय सरकारको निर्णयअनुसार भोलि असोज १ बाट अन्तरजिल्ला तथा लामो दुरीका यातायात सञ्चालन हुनेछन् भने अन्तरिक हवाई उडान पनि सुचारु हुनेछन् । यसले गर्दा देशभरका मानिसहरु उपत्यका आइपुग्नेछन् । तर, यसरी काठमाडौं आउनेहरुलाई पीसीआर टेष्ट वा क्वारेन्टिन अनिवार्य हुनेछैन ।

सरकारले हात उठाएजस्तै छ

उपत्यकामा संक्रमण बढिरहेका बेला सबै खुला गरेको भन्दै स्थानीय सरकारहरुले भने असन्तुष्टि जनाएका छन् । उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संघीय सरकारले अब सकिन्न भनेर हात जोडे जस्तै गरेको बताएका छन् । संक्रमण बढिरहेको र पिकमा पुग्न बाँकी रहेको बताउँदै महर्जनले भने, ‘यसबारे हामीसँग कुनै सल्लाह भएको छैन । एकलौटी निर्णय गर्दा दुर्घटना हुन सक्छ ।’ यसअघि पनि आफूहरुले नाकामा कडाइ गरौं भन्न सुनुवाइ नभएको र ७ साउनबाट सबै खुला गर्दा समुदाय स्तरमा संक्रमण पुगेको मेयर महर्जनको विश्लेषण छ । अहिले पनि मापदण्डहरु बनाएर व्यवस्थित गर्दै जानुपर्नेमा सबै खुला गरेको भन्दै महर्जनले असन्तुष्टि जनाए । उनले भने, सरकारले के आधारमा खोलेको हो, थाहा छैन । संक्रमण घटेर नियन्त्रणमा आएर हो भनौं भने तथ्यांकले त्यो देखाउँदैन ।

संक्रमण बढ्छ, आफैं जोगिनुपर्छ

जनस्वास्थ्य विज्ञहरु पनि सार्वजनिक यातायात, बजार सबै खुला गर्दा संक्रमण बढ्ने बताउँछन् । अर्थतन्त्र चलायमान बनाउनुपर्ने, नजिकिँदो दशैं लगायतका चाडपर्व एवं उद्योगी व्यवसायी सबैको दबावमा परेर सरकारले यो निर्णय गरेको हुनसक्ने उनीहरुको विश्लेषण छ । एक जनस्वास्थ्य विज्ञ भन्छन्, ‘सधैं लकडाउन गरेर मात्र हुन्न, तर खोल्दा व्यवस्थित गरेर जान पाएको भए राम्रो हुन्थ्यो । अब सरकारले निर्णय गरिसकेकाले हरेक मानिस आफैं सचेत भएर जोगिनुपर्ने ती विज्ञले बताए । ‘पछिल्लो ७/८ महिनामा तपाई हामीले जे जति सिक्यौं, त्यसलाई व्यवहारमा उचार्ने र बाहिर निस्कन हरेक मानिस सतर्क हुनुपर्छ’ उनले भने । जनस्वास्थ्य विज्ञ डाक्टर शरद वन्त पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने उपयुक्त समय आएको बताउँछन् । ‘लकडाउन खुकुलो बनाउनु आवश्यक थियो, खुकुलो भयो’ उनले भने, ‘अब हामी पहिलेभन्दा सचेत हुनुपर्छ । वास्तविक सामाजिक दुरी कायम गर्ने समय आयो । किनकि, पहिलाभन्दा अहिले मानिसको चहल-पहल बढ्छ । सरकारले पनि संक्रमण सार्न सक्ने सम्भावित ठाउँहरुमा तगारो लगाएको भन्दै उनी लकडाउन खुलेको भनेर भ्रम पाल्नु खतरनाक हुने बताउँछन् । डा. वन्तले अघि भने, ‘संक्रमण कुनरुपमा जान्छ भन्ने भविष्य हाम्रो हातमा छ । अब हामीले सचेत भएर दैनिक जीवनमा र्फकनुपर्छ । डा. वन्तले थपे, ‘तर यो भुल्नुहुन्न कि, अब पहिलेभन्दा बढी सावधानी अपनाउनुपर्छ, लापरवाही गर्नैहुन्न । किनकि संक्रमणको जोखिम हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ ।’ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन पनि पहिलाभन्दा बढी सचेत हुनुपर्ने बताउँछन् । उनका अनुसार पछिल्ला दिनहरुमा संक्रमण फैलिएको ठाउँका साथै भारतबाट समेत मानिसहरु आएका छन्, उनीहरुको पीसीआर टेष्ट पनि भएको छैन । अब लामो दुरीका यातायात खुलेपछि मानिसहरु आउने नै भए । उनी भन्छन्, ‘केही समय हामी कडा अनुशासनमा बस्नैपर्छ, जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ । मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र हात धुनु नै संक्रमणबाट बच्ने उपयुक्त विकल्प हो । यो बाहेक अन्य विकल्प पनि छैन । भिडभाडयुक्त ठाउँमा जोखिम हुने भएको भन्दै उनले भने, ‘सार्वजनिक यातायातमा दुरी कायम गर्न गाह्रो होला । त्यसैले सम्भव भएसम्म पैदल हिँड्नु उचित हुन्छ । स्रोत: अलाख

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार