बसमै बन्धक बनाएर दुई दिनसम्म सामूहिक बलात्कार……

यौनजन्य अपराध र घरेलु हिंसाका घटना एकपछि अर्को गरेर बाहिर आइरहेका बेला उपत्यकामै एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ लिवालीमा शनिबार रोकिराखेको बा३ख २६१२ नम्बरको बसभित्र १७ वर्षीया किशोरीमाथि बलात्कार भएको हो । पीडित किशोरी सिन्धुपाल्चोक घर भई मूलपानी बस्दै आएकी थिइन् । घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको साँगाचोकगढी–१० चौताराका २२ वर्षीय नीरकुमार खड्का र जुगल–४ का २१ वर्षीय सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । खड्का बसका चालक र श्रेष्ठ सहचालक हुन् । दुवै अभियुक्तले प्रहरीसँगको बयानमा कसुर स्विकारेका छन् । ‘एक जना माल छ, चाहिन्छ भन्दै साथीले फोन गर्‍यो, हामीले पनि हुन्छ भन्यौं,’ बलात्कारमा संलग्न अभियुक्तले बयानमा भनेका छन् । शुक्रबार करिब ११ बजेतिर एक अपरिचितले रत्नपार्कबाट नशालु पदार्थ खुवाएर किशोरीलाई भक्तपुरको सूर्यविनायक पुर्‍याएको थियो । रत्नपार्कमा भेट हुनुअघि एकै पटक युवतीलाई नशालु पदार्थ खुवाएको वा कुराकानीकै क्रममा भेट भएपछि त्यसको फाइदा उठाएको भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ । करिब २४ घण्टासम्म नशालु पदार्थ खुवाएर किशोरीमाथि उसले पटक–पटक बलात्कार गरेको प्रहरीमा परेको किटानी जाहेरीमा उल्लेख छ । भोलिपल्ट शनिबार बिहान करिब ११ बजेतिर अपरिचित व्यक्तिले किशोरीलाई लिवालीमा पुर्‍याएको थियो । त्यहाँ रहेका खड्का र श्रेष्ठलाई किशोरी जिम्मा लगाएर ऊ त्यहाँबाट हिँड्यो । हाल फरार ती व्यक्ति दिपेश राई भनिएको छ । दिपेश र पक्राउ परेकाहरूको चिनजान पुरानै भएको पनि खुलेको छ । त्यसपछि चालक र सहचालकले किशोरीलाई बसभित्रै राखेर पटक–पटक बलात्कार गरेका थिए । लिवालीको तबियाखुसी खोला किनारमा पार्किङ गरेर राखिएको बसभित्र शंकास्पद गतिविधि भएको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । केहीबेरमै प्रहरी आएपछि खड्का र श्रेष्ठ भागेका थिए, प्रहरीले किशोरीको उद्धार गरेको थियो । प्रहरी बसमा पुग्दा किशोरी होसमै थिइन् । उनले आफूमाथि भएको घटनाको बयान दिएकी छन् । बिहान ११/१२ देखि राति ७/८ बजेसम्म किशोरीमाथि दुवै जनाले बलात्कार गरेका थिए । किशोरीले प्रहरीसमक्ष आफूलाई रत्नपार्कबाट कसरी ल्याइएको भन्नेबारे केही थाहा नभएको बताएकी छन् । ‘मलाई नशालु पदार्थ खुवाइयो, त्यसपछि म कुन अवस्थामा के थिएँ भन्नेबारे थाहा नै पाइनँ,’ पीडितले प्रहरीमा भनेकी छन्, ‘करिब एक दिन त्यही अपरिचित र त्यसपछि बसमा दुई जनाले मलाई हातखुट्टा समाएर जबर्जस्ती बलात्कार गरे, अरूलाई भने जे पनि हुन्छ भनेर धम्की पनि दिएका थिए ।’ भक्तपुर प्रहरी प्रमुख एसपी तारा देवी थापाले अनुसन्धान जारी रहेको बताइन् । ‘फरार भएका र पक्राउ परेका आरोपितबीच कस्तो सम्बन्ध वा चिनजानलगायत विषयमा अनुसन्धान भइरहेको छ,’ उनले भनिन् । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत भक्तपुरले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । पीडित किशोरीलाई स्वास्थ्य परीक्षणपछि सुरक्षित स्थानमा राखिएको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार