कोरोना संक्रमितको मृत्युको विषयमा किष्ट अस्पतालमा झडप……

ललितपुरको किष्ट अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । बुधबार बिहान बिरामीको मृत्यु रहस्यमय ढंगले भएको भन्दै आफन्तले अस्पताल घेराउ गरी सत्य–तथ्य छानविनका लागि माग गरेका छन् । गत शनिवार कोरोना संक्रमण भएपनि नुवाकोट तादी गाउँपालिकाका शेरबहादुर लामालाई ललितपुरको किष्ट मेडिकल शिक्षण अस्पतालमा भर्ना गरियो । भर्ना गरेपछि शेरबहादुरले फोनबाट अस्पतालले राम्रो उपचार नगरेको गुनासो गर्थे । उनको गुनासोपछि छोरी तारा मोक्तानले अस्पतालमा फोन गरेर राम्रो उपचार गर्न आग्रह गरेको बताइन् । बिरामीले हात हल्लाएर बोलाउँदा पनि डाक्टर डेढ घण्टापछि मात्र आउने आफ्नो बुवाले बताएको मोक्तानले बताइन् ।आज बिहान बुवा बिहान ट्वाइलेटमा ढलेको र आसियूमा लगेर उपचार गर्दा मृत्यु भएको भन्दै अस्पतालबाट फोन आएपछि आश्चर्यमा परेको उनका छोरा प्रेम लामा तामाङले बताए । उनले भने– ‘ट्वाइलेटमा लडेपछि किन फोन नगरेको ? इर्मजेन्सी केश भएपछि आफन्तलाई फोन किन नगरेको भनेर हामीले प्रशासनलाई सोधिरहेका छौं । हिजोसम्म ठिक रहेको मान्छे ट्वाइलेटमा लडेको भने पनि हामीलाई शंका लाग्यो । सिसिटिभी फुटेज धमिलो गरिएको छ । लडेपछि आइसियुमा लगेर उपचार गर्दा निधन भएको भने पनि पहिले मृत्यु भएपछि आइसियुमा पुर्याएको अर्को सिसिटिभीमा देखियो । अस्पतालले बिरामीको उपचारमा ठूलो लापरवाही गरेको छ ।’ आफन्तले मृतकको शरीर र सिसिटिभी फुटेज हेर्दा आइसियुमा लानुअघि नै मृत्यु भएको देखिएको दावी गरेका छन् । लडेको भनेको ठाउँको फुटेज हेर्दा धमिलो र केही नदेखिने भएपछि शंका लागेकोले सत्य–तथ्य छानविन गर्न माग गरेको उनीहरुले बताए । मृतककी छोरी मोक्तानले गएरातीसम्म परिवारको सम्पर्कमा रहेर कुरा गरिरहेको मान्छे आज बिहान मृत्यु हुनु् रहस्यमय भएको बताउँदै अस्पतालबिरुद्ध कारवाहीका लागि उजुरी दिने बताइन् । अस्पताल प्रशासनले पर्याप्त र चित्तबुझ्दो जानकारी नदिएको भन्दै मृतकमा आफन्तले अस्पतालको गेट घेराउ गरेका छन् । अस्पतालभित्र आक्रोशित आफन्त प्रवेश गर्न लाग्दा प्रहरीले सामान्य बल प्रयोग गरेको छ । अहिले अस्पताल हातामा बाक्लो संख्यामा दंगा प्रहरी परिचालन गरिएको छ भने अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल चलिरहेको छ । स्रोत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार