अमेरिकी राष्ट्रपतिबाट अब सर्दैन कोरोना……

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अब अरूलाई कोरोना भाइरस (कोभिड–१९) सर्ने खतरा नरहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ट्रम्पको उपचारमा संलग्न चिकित्सक डा. सिन कोन्लीले ट्रम्पको स्वास्थ्य अवस्थाबारे आइतबार औपचारिक जानकारी दिएका हुन् । यद्यपि, उनले ट्रम्पमा कोभिड–१९ नेगेटिभ देखिएकोबारे केही उल्लेख गरेनन् । कोन्लीले राष्ट्रपतिको शरीरमा अब ‘भाइरसको संख्या बढेको कुनै प्रमाण नभेटिएको’ बताएका छन् । उनले ट्रम्पको शरीरमा रहेका भाइरसको संख्या परीक्षण गरिएको र त्यसका आधारमा उनी अन्य कोहीलाई भाइरस सार्ने अवस्थामा नरहेको बताए । ‘रोग नियन्त्रण तथा रोकथाम केन्द्रले तय गरेको मापदण्डअनुसार राष्ट्रपति ट्रम्प आइसोलेसनबाट बाहिर निस्कने अवस्थामा रहेको जानकारी गराउन चाहन्छु । आज बिहान गरिएको परीक्षणका आधारमा उनीबाट अब अरूलाई भाइरस सर्ने कुनै खतरा छैन,’ कोन्लीले जारी गरेको नोटमा उल्लेख छ । भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएयता ट्रम्पले ह्वाइटहाउसमा समर्थकको भीडलाई सम्बोधनसमेत गरेका छन् । भवनको बार्दलीबाट समर्थकलाई सम्बोधन गर्दै उनले आफू कोभिड–१९ बाट निको भएको दाबी गरेको समाचार संस्था एपीले उल्लेख गरेको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार