फाइजरको खोपले ल्याएको खुसी : पुष्टि हुन बाँकी कुरा धेरै छन् !……

कोरोनाभाइरसको महामारीले विश्वव्यापी रुपमा १२ लाखभन्दा बढीको ज्यान लिइसकेको छ । यो अवस्थामा औषधी निर्माता कम्पनीहरु फाइजर (जर्मनी) र बायोंटेक (अमेरिका) ले तेस्रो चरणको परीक्षण गरेको खोप ९० प्रतिशत सफल भएको खबरले संसारभरि नै उत्साहको लहर छाएको छ । वैज्ञानिकहरु एवं विश्वका राजनेताहरुले त्यसको स्वागत गर्दै हर्षोल्लास प्रकट गरिरहेका छन्, शेयर बजारले गति लिएको छ । तर यो भ्याक्सिन साँच्चै नै अन्तिम रुपमा सफल छ कि छैन भन्ने कुरा यकिन हुन अझै केही समय लाग्ने भन्दै कतिपय विज्ञहरुले अहिले नै अति उत्साहित हुनु आलाकाँचा हुने चेतावनी दिएका छन् । उक्त औषधी कम्पनीहरुले हिजो सोमबार मात्रै आफूहरुले निर्माण गरेको कोरोनाविरुद्धको खोप तेस्रो चरणको प्रयोगमा ९० प्रतिशत सफल भएको दावीसहित घोषणा गरेका थिए । आम रुपमा प्रयोगका लागि अघि बढ्नुअघि खोपको विश्वसनीयता जाँच्नको लागि गरिने अन्तिम चरणको सो परीक्षणको नतिजा वास्तवमै उत्साहवर्धक हो । खोपको परीक्षणमा ६ देशका ४४ हजार स्वयंसेवीहरुलाई सहभागी गराइएका थियो । तीमध्ये आधालाई उक्त कम्पनीहरुले बनाएको कोरोना खोप लगाइएको थियो भने आधालाई चाहिँ प्लेसिवो (छ्द्म) भ्याक्सिन दिइएको थियो, जसको कुनै असर नै हुँदैन । ‘खोप परीक्षणको नतिजा ९० प्रतिशत सफल भएको सोमबारको घोषणा चाहिँ परीक्षणमा निरन्तर संलग्न ९४ जना सहभागीहरुको तथ्यांकमा आधारित छ । ती मध्ये भ्याक्सिन लगाएका ९ जनामा कोभिड– १९ का संक्रमित देखिएको थियो । खोपको प्रभावकारिताको दर सुनिश्चित गर्नको लागि खोप निर्माता कम्पनी फाइजरले आफ्नो परीक्षणलाई निरन्तर जारी राख्ने जनाएको छ । उसले आफ्ना परीक्षणमा संलग्न स्वयंसेवकहरुमा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले निर्धारण गरेको कोरोनासंक्रमणको संख्या १६४ नदेखिएसम्म परीक्षण जारी राख्ने बताएको छ । यस हिसाबले पनि फाइजर र बायोंटेकले गरेको घोषणाको अन्तिम प्रभावकारिता पुष्टि हुन बाँकी नै छ । उनीहरुले प्रस्तुत गरेको खोपको प्रभावकारिताको तथ्यांक प्रचलनअनुसार पियर–रिभ्युसहित मेडिकल जर्नलनमा प्रकाशित हुन पनि बाँकी नै छ । खोप निर्माता कम्पनी फाइजरले चाहिँ पूरै परीक्षणको नतिजा आइसकेपछि सो कार्य गर्ने जनाएको छ । कतिपय विज्ञहरुले पनि उक्त परीक्षणबाट प्राप्त तथ्यांकहरुको मुख्य विवरणलाई विशलेषण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनीहरुले अहिले खोप ९० प्रतिशत सफल भएको दावी गरिएपनि अझै थुप्रै प्रश्नहरु अनुत्तरित नै रहेको भनी त्यसबारे सचेत पनि गराएका छन् । उनीहरुले फाइजर कम्पनीको खोपले कोभिड–१९ को गम्भीर रोग तथा त्यसको जटीलतालाई पन्छाउन सक्छ कि सक्दैन, यसले कति लामो समयसम्म संक्रमणका विरुद्ध काम गर्न सक्छ तथा बृद्धावस्थाका मानिसहरुमा यसले कत्तिको राम्ररी काम गर्न सक्छ भन्ने कुरा थाहा हुन बाँकी नै रहेको औंल्याएका छन् । विश्व स्वास्थ्य संगठनले पनि यो खोपको प्रभावकारिताबारेको रिपोर्टलाई अत्यन्तै सकारात्मक भन्दै करिब ४ अरब ५० करोड अमेरिकी डलर बराबरको रकमको अभावले न्यून तथा मध्य आय भएका देशहरुमा भ्याक्सिन र औषधीहरुको उपलब्धतालाई असर गर्ने चेतावनी दिएको छ । साथै, यो भ्याक्सिनलाई डीपफ्रीज गरेर मात्रै सुरक्षित राख्न सकिने भएकोले विद्यतु आपूर्ति अपर्याप्त भएका गरिब देशहरुमा यसको वितरण र प्रयोग चुनौतीपूर्ण रहेको कुरा पनि विज्ञहरुले औंल्याएका छन् । प्रारम्भिक नतिजाहरुका आधारमा नै फाइजर र बायोंटेक कम्पनीले यस खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति पाउनका लागि नोभेम्बर महिनाको अन्त्यसम्ममा एफडीएमा आवेदन दिने तयारी गरेका छन् । त्यसो त समय बताउनका लागि यी दुई कम्पनीले खोपको प्रभावकारिता पुष्टि हुन बाँकी छँदै यसको व्यापक उत्पादन पनि शुरु गरिसकेका छन् । उनीहरुले यसै वर्षको अन्त्यसम्ममा ५ करोड खोप उत्पादन गरिसक्ने लक्ष्य राखेका छन् । एक जनालाई दुई डोज लगाउनुपर्ने यो खोप लक्ष्यअनुसार उत्पादन भयो र आम प्रयोगका लागि अनुमति प्राप्त भयो भने २ करोड ५० लाख मानिसलाई लगाउन पुग्नेछ । त्यसो त फाइजर कम्पनीले सन् २०२१ मा १ अरब ३० करोड खोप उत्पादन गर्ने लक्ष्य राखेको छ ।

खोप लिने दौडमा विकसित देशहरु

फाइजर कम्पनी र बायोंटेक कम्पनीले अहिले नै अमेरिकी सरकारबाट १ अरब ९५ करोड डलर बराबरको खोपको माग लिइसकेको छ । उसले आगामी वर्षको शुरुवाततिर अमेरिकालाई १० करोड खोप आपूर्ति गर्नुपर्नेछ । त्यसबाहेक, ती दुई कम्पनीले युरोपियन युनियन, बेलायत, क्यानडा र जापानबाट पनि खोप आपूर्ति गर्ने माग लिइसकेका छन् ।

नेपालले पर्याप्त खोप पाउन अझै ५-६ महिना लाग्ने : जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे

कोरोनाभाइरसविरुद्धको खोपका बारेमा जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे लेख्छन्– कोरोना भाइरसको अनुबांशिक कोडलाई मानव शरीरमा खोप लगाएपछि यसले हाम्रो इम्युन प्रणालीलाई तालिम दिन्छ साथै टि सेलमार्फत कोरोना भाइरससंग लड्दछ । यो बर्षको अन्त्यसम्ममा ५० करोड र २०२१ को अन्त्यसम्म करिब १.३ अर्ब डोज आपूर्ति गर्न सक्षम हुने फाइजर र बायोंटेकले जनाएका छन् । प्रत्येक व्यक्तिलाई दुई डोज आबश्यक पर्नेछ । यो खोपको साथै अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धानले गरेको तथा एस्ट्राजेनेकाले निर्माण गरिरहेको खोप, अमेरिकाको मोडेर्ना ल्याबको खोप, चीनका ३ वटा खोप ( सिनोफाम, कान्सिनो, सिनोभ्याक) पनि अन्तिम चरणमा पुगेका छन् । रुसको ग्यामेलिया इन्स्टिच्युट र भेक्टर इन्स्टिच्युटले तेस्रो चरणको परिक्षण गरिरहेका छन् । तेस्रो चरणको परिणाम आइनसके पनि चीन र रुसले सिमित संख्यालाई खोप दिइरहेका छन् । नेपालले पर्याप्त खोप पाउन अझै ५-६ महिना लाग्ने देखिएको छ । त्यो बेलासम्म अनिबार्य रुपमा जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नु जरुरी छ ।  स्रोत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार