डब्लुएचओले कोरोनाविरुद्ध प्रयोग भैरहेको रेमडेसिभिरलाई औषधिहरुको सूचीबाट हटायो……

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एन्टी भाइरल औषधि रेमडेसिभिरलाई कोरोना उपचार गर्न प्रयोग गरिने औषधिहरुको सूचीबाट हटाएको छ । विश्वका जुन–जुन देशका अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारका लागि रेमडेसिभिर इन्जेक्सनको प्रयोग भैरहेको छ, ती देश र अस्पतालहरुलाई तुरुन्तै सो कार्य बन्द गर्न डब्लुएचओले आग्रह गरेको छ । संगठनले उक्त औषधि कोरोनाको उपचारमा सहयोगी रहेको कुनै प्रमाण नभएको समेत दाबी गरेको छ ।ट्रम्पको उपचारमा पनि रेमडेसिविर प्रयोग गरिएको थियो । द गार्डियनका अनुसार पछिल्ला महिना चुनावी अभियानका क्रममा कोरोना संक्रमित हुन पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि रेमडेसिभिरबाटै उपचार गरिएको थियो । तर अहिले सोही औषधिलाई डब्लुएचओले रोक लगाएको छ । बिहीबार जारी विज्ञप्तिमा डब्लुएचओले भनेको छः ‘ हाम्रो दिशा निर्देश समितिले सिफारिस गरे बमोजिम यदि अस्पतालहरुमा रेमडेसिविर प्रयोग भैरहेको छ भने त्यसलाई तुरुन्तै बन्द गर्नुपर्छ । हामीले यो कोभिड बिरामीहरुको उपचारका लागि प्रभावकारी छ भन्ने कुनै प्रमाण फेला पार्न सकेनौ ।’ विश्व स्वास्थ्य संगठनले दिएको यो सल्लाहले धेरै मानिसहरुलाई चकित तुल्याउन सक्छ । यद्यपि, धेरै देशका चिकित्सा वैज्ञानिकहरुले यसको प्रयोगका लागि स्पष्ट रुपमा सुझाव दिँदै आइरहेका छन् । उता, अमेरिकी औषधि कम्पनी फाइजरले शुक्रबार कोभिड १९ भ्याक्सिनको आपतकालिन प्रयोगका लागि अमेरिकी नियामकहरुबाट अनुमति मागेको छ । फाइजरले विकास गरेको उक्त खोपमाथिको प्रारम्भिक मूल्यांकनले सो खोप ९५ प्रतिशत सम्म प्रभावकारी रहेको पाइएको छ । फाइजरका अनुसार कोरोना भ्याक्सिनको डोज अर्को महिनासम्म उपलव्ध हुनेछ । अब त्यसका लागि युएस फूड एन्ड ड्रग एडमिनिस्ट्रशन(एफडीए)ले आपतकालिन खोपका लागि प्रयाप्त प्रमाण छ कि छैन भनेर निर्णय लिनुपर्ने जनाइएको छ । कोरोना संक्रमणबाट अहिले विश्वभर ५.७३ करोडभन्दा बढी मानिसहरु संक्रमित भैसकेका छन् । जसमध्ये ३.९८ करोड व्यक्ति निको भैसकेका छन् । जबकि १३.६८ लाख व्यक्तिको संक्रमणकै कारण ज्यान गैसकेको छ । अहिले विश्वभर १.६१ करोड संक्रिय संक्रमित रहेका छन् । स्रोत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार