किमले चिनियाँ खोप लगाएको दाबी……

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेको खोप लगाएको एक अमेरिकी सुरक्षा विज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन् । ह्यारी काजियानियासले एक लेख लेख्दै उत्तर कोरियाली नेता किम, वरिष्ठ सरकारी अधिकारीहरु र उनका परिवारका सदस्यहरुले चीनमा निर्माण गरिएको खोप हालै लगाएका दाबी गरेका हुन् । काजियानियास हाल वासिङ्टनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ठ निर्देशक हुन् । लेखमा उनले दुई जना जापानीलाई गोप्य स्रोतका रूपमा उल्लेख गरेका छन् । तर चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उनका परिवारका सदस्यले लगाएका हुन् भन्ने खुलाइएको छैन । चीनमा हाल कोभिडविरुद्धका कम्तीमा तीन खोप परीक्षणका क्रममा छन् । तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ । तर खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निक्र्यौल हुन सकेको छैन । उत्तर कोरियामा हालसम्म कोभिड–१९ को संक्रमणका विषयमा केही जानकारी सार्वजनिक गरिएको छैन । तर उत्तर कोरियाले गत जनवरीदेखि आफ्नो देशका सीमामा सुरक्षा व्यवस्था निकै कडा पारेको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार