अमेरिकामा कोभिड–१९ विरुद्धको खोप अनिवार्य नगरिने……

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोभिड–१९ विरुद्धको खोप लिन नागरिकहरूलाई बाध्य नबनाइने बताएका छन् । आफ्नो घरबाहेक बन्द कोठा भएका जुनसुकै स्थानमा मास्क लगाउन सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले पहिलोपटक आग्रह गरेपछि बाइडनले यस्तो बताएका हुन् । सीडीसीले अमेरिका कोभिड–१९ को संक्रमण दर उच्च रहने समयमा प्रवेश गरेको बताएको छ । अमेरिकामा शुक्रबार मात्रै भाइरसका कारण २ हजार ५ सय संक्रमितको मृत्यु भएको थियो भने झन्डै २ लाख २५ हजार संक्रमित थपिएका थिए । अमेरिकामा शनिबार साँझसम्म १ करोड ४३ लाख ७५ हजार जना कोभिड–१९ बाट संक्रमित भइसकेका छन् । २ लाख ८० हजारभन्दा बढीले ज्यान गइसकेका छन् । नोभेम्बर ३ मा भएको चुनावमार्फत राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले जनवरी २० मा पदभार ग्रहण गर्दै छन् । उनको शपथ ग्रहण समारोहमा ठूलो भीड नहुने अपेक्षा गरेको बाइडनले बताएका छन् । कोभिडविरुद्धको खोप विकास गरेका फाइजर र मोडर्नाले खोप वितरणको अनुमति माग गर्दै फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनमा आवेदन दिइसकेका छन् । क्लिनिकल परीक्षणका क्रममा आफूले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखाएको फाइजरले जनाएको छ । त्यस्तै खोप ९४ प्रतिशत प्रभावकारी रहेको मोडर्नाको दाबी छ । फाइजरले निर्माण गरेको खोपले बेलायतमा भने सार्वजनिक प्रयोगका लागि बुधबार अनुमति दिइसकिएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले एक साताभित्र अमेरिकाले कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि अनुमति दिने विषयमा टुंगो लागिसक्ने जनाएका छन् । पिउ रिसर्च सेन्टरले गरेको एक अनुसन्धानमा करिब ६० प्रतिशत अमेरिकीहरू मात्रै कोभिडविरुद्धको खोप लिने मनस्थितिमा रहेका देखिएको छ । उक्त संख्या गत सेप्टेम्बरमा ५० प्रतिशतको हाराहारीमा थियो । बाइडेनले खोपबारे व्यक्त गरिएका सम्भावित चिन्ता कम गराउने पहलस्वरूप आफू सार्वजनिक रूपमा खोप लिन तयार रहेको बताएका थिए । त्यस्तै पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, जर्ज डब्लू बुस र बिल क्लिन्टनले पनि आफूहरू सार्वजनिक रूपमा खोप लिन तयार रहेको जनाइसकेका छन् । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार