‘नेपाल र चीनझैं सबै मिलेर काम गर्ने हो भने कोरोनालाई हराउन सकिन्छ’……

चीनले सबै देश मिलेर काम गर्ने भने कोरोना महामारीलाई परास्त गर्न सक्ने बताएको छ । बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लि च्येनले कोभिड–१९ ले विश्वलाई नै जटिल परिस्थितिमा धकेलेको भए पनि यसबाट छुटकारा पाउन सकिने बताएका हुन् । पत्रकार सम्मेलनका क्रममा सगरमाथाको नयाँ उचाइ घोषणाको महत्वबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता च्येनले कोरोना महामारीलाई सबै मिलेर परास्त गर्नु पर्ने बताएका हुन् । ‘चोमोलोङ्मा(सगरमाथा) को अग्लाइ जति नै भए पनि आरोहण गर्न सकिन्छ, त्यसै गरी जति नै कठिन परिस्थिति भए पनि कोभिड–१९ लाई परास्त गर्न सकिन्छ,’ उनले पत्रकार सम्मेलनमा भने । उनले अगाडि भने, ‘चीन र नेपालले झैं समझदारीका साथ मिलेर काम गर्ने हो भने हामीले कोरोना भाइरसलाई हराउन सक्छौं ।’ प्रवक्ता च्येनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली समकक्षी विद्यादेवी भण्डारीले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेको उल्लेख गर्दै यसले कोरोना महामारीले आक्रान्त विश्वमा नयाँ आशा जगाएको बताए । उनले भने, ‘सगरमाथाको नयाँ उचाइको घोषणाले मानव जातिको साहस र संसारलाई बुझ्ने र पत्ता लगाउन सपनालाई पछ्याउने मानव शक्तिको प्रतिनिधित्व गर्छ ।’ साथै सगरमाथाको नयाँ उचाइ घोषणा हुनु चीन–नेपाल मित्रतामा एउटा नयाँ कोशेढुंगा थपिएको पनि उनले दाबी थरे । यसै वर्ष नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुग्ने उल्लेख गर्दै दुवै पक्षको पहलकदमीबाट बीआरआई सहकार्यमा लगातार प्रगति भएको पनि उनले बताए । यसले ट्रान्स–हिमालयन बहुपक्षीय नेटवर्क विस्तारमा सहयोग पुग्ने पनि प्रवक्ता च्येनले बताए । उनले नेपाल र चीनबीचको सम्बन्ध हिउँजत्तिकै निर्मल भएको पनि बताए । प्रवक्ता च्येनले सगरमाथाको नयाँ उचाइ घोषणाले नेपाल–चीन सहकार्य पनि नयाँ उचाइमा पुगेको संकेत गर्ने बताए । सगरमाथाको चट्टानी उचाइ निश्चित गर्नका लागि दुवै पक्षबाट भएको कठिन मेहनत र सहकार्य भएको पनि उनले बताए । सगरमाथाको नयाँ उचाइ पत्ता लगाउन खटिने सबैलाई उनले धन्यवाद पनि व्यक्त गरेका छन् । साथै सगरमाथाको पारिस्थितिक र पर्यावरण संरक्षण तथा वैज्ञानिक अनुसन्धानमा नेपाललाई सहयोग गर्न चीन सधैं तयार रहेको पनि प्रवक्ता च्येनले बताएका छन् । म‌ंगलबार नेपाल र चीनले स‌ंयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको घोषणा गरेका हुन् । नेपाल र चीन सगरमाथाको उचाइ ८८४८.८६ मिटर भएकोमा एकमत भएपछि नयाँ उचाइ घोषणा गरिएको हो । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार