‘धनी देशले कोभिडविरुद्धको खोप ओगटे’……

धनी तथा विकसित देशहरूले कोभिड–१९ विरुद्धको खोपको धेरै मात्रा सञ्चय गर्दा गरिब मुलुकहरूमा बस्ने मानिसले खोप नपाउने अवस्था आउने अभियानकर्मीहरूको एक समूहले चेतावनी दिएको छ ।  ‘द पिपल्स भ्याक्सिन अलाइअन्स’ ले करिब ७० वटा न्यून आय भएका मुलुकमा १० जनामा एक जनाले मात्र खोप पाउन सक्ने अवस्था रहेको बताएको छ । अक्सफोर्ड र अस्ट्राजेनेकाले उसको उत्पादनको ६४ प्रतिशत खोप विकासशील मुलुकलाई दिने भनेपछि पनि त्यस्तो अवस्था रहेको अभियानकर्ताहरूको भनाइ छ । विश्वभर खोपमाथिको पहुँच न्यायपूर्ण हुनुपर्नेमा मानवअधिकारकर्मीहरूले जोड दिँदै आएका छन् । गरिब तथा विकासोन्मुख मुलुकहरूमा समेत खोप उलब्ध होस् भन्ने उद्देश्यका साथ कोभ्याक्स संस्था क्रियाशील रहेको छ । संस्थाले खोप भित्र्याउन खोजिरहेका ९२ वटा न्यून आय भएका मुलुकमा बाँड्नका लागि आफूसँग ७० करोड खोपको मात्रा सञ्चित रहेको जनाएको छ । तर पनि एम्नेस्टी इन्टरनेसनल, अक्सफाम, ग्लोबल जस्टिस नाउलगायत संस्थाले खोप पर्याप्त नभएको भन्दै औषधि कम्पनीहरूले धेरै मात्रा उत्पादन गर्न प्रविधि हस्तान्तरण गर्नुपर्ने आवाज उठाएका छन् । उनीहरूको विश्लेषणमा धनी देशहरूले आफ्ना सम्पूर्ण नागरिकलाई तीन पटकभन्दा बढी खोप दिन मिल्ने गरी खोपको मात्रा किनिसकेका छन् । उदाहरणका लागि क्यानडाले हरेक नागरिकलाई पाँच पटकसम्म लगाउन पुग्ने गरी खोप अर्डर गरेको दाबी गरिएको छ । धनी देशले सम्पूर्ण जनसंख्याको १४ प्रतिशत ओगट्छन् तर हालसम्म तयार हुने भनिएका खोपको करिब ५३ प्रतिशत उनीहरूले किनिसकेका छन् । ‘जीवन रक्षा गर्ने खोप कुनै मुलुकमा जन्मेकै कारण वा खल्तीमा कम पैसा भएका कारण लिनबाट कसैलाई पनि वञ्चित गरिनु हुँदैन,’ अक्सफामकी स्वास्थ्य नीति व्यवस्थापक अन्ना म्यारियोटले भनिन्, ‘तर केही कुरा नाटकीय रूपमा परिवर्तन नभएसम्म संसारभरका अर्बौं मानिसले कैयौं वर्षसम्म कोभिडविरुद्धको खोप लगाउन पाउने देखिन्न ।’ द पिपल्स भ्याक्सिन अलाइअन्सले सबै औषधि उत्पादनकर्तालाई उनीहरूको प्रविधि र स्वामित्वको अधिकार हस्तान्तरण गरी सर्वसुलभ रूपमा संसारभर खोप उपलब्ध हुने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । उनीहरूका अनुसार उक्त कार्य विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मार्फत गर्न सकिन्छ । अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप उत्पादन गरिरहेको अस्ट्राजेनेकाले गैरनाफामूलक तरिकाले विकासशील मुलुकलाई आफ्नो खोप उपलब्ध गराउने बताएको छ । उक्त खोप हाल सफल ठानिएका मध्ये सबैभन्दा सस्तो रहेको बताइएको छ । त्यसका साथै यो खोप घरायसी रूपमा प्रयोग हुने फ्रिजको तापक्रममा भण्डारण गर्न सकिने जनाइएको छ । जसका कारण यो खोप संसारभर सहज रूपमा वितरण गर्न सम्भव हुने ठानिएको छ । तर अभियानकर्ताहरूले एउटा मात्र कम्पनीले सारा संसारका लागि आवश्यक खोप उत्पादन गर्न नसक्ने तर्क गरेका छन् । अमेरिकी कम्पनी फाइजर तथा उसको जर्मन साझेदार बायोएनटेक खोपले बेलायतमा सार्वजनिक प्रयोगका लागि अनुमति पाइसकेको छ । बेलायतमा सबभन्दा जोखिममा रहेकाहरूलाई यसै सातादेखि खोप दिन सुरु गरिसकिएको छ । अमेरिका र युरोपका अन्य मुलुकमा पनि उक्त खोपलाई छिट्टै अनुमति दिने आंकलन गरिएको छ । जसका कारण उक्त खोप गरिब तथा विकासोन्मुख देशमा पुग्न लामो समय लाग्ने देखिएको छ । अमेरिकी कम्पनी मोडेर्ना तथा अक्सफोर्ड र अस्ट्राजेनेकाले अन्य केही देशमा खोप प्रयोगका लागि अनुमति मागेका भए पनि पाइसकेका छैनन् । रुसी खोप स्पुतनिक–५ पनि रुसमा सर्वसाधारणलाई दिन थालिएको छ । तर यसलाई पनि अन्य देशमा हालसम्म प्रयोगका लागि अनुमित दिइसकिएको छैन । त्यसैगरी चारवटा अन्य खोप पनि क्लिनिकल परीक्षणको अन्तिम चरणमा रहेको बताएइको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार