प्रबुद्ध नागरिकको भेलाको ठहर : प्रम ओलीले चालेको कदम गैरसंवैधानिक र अमानवीय……

बौद्धिक, लेखक, कवि, कलाकार तथा नागरिकहरुको काठमाडौँमा आयोजित भेलाले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको संसद विगठनको कदमलाई अत्यन्त प्रतिगामी र गैरसंवैधानिक ठहर गर्दै यसको घोर भत्सर्ना गरेको छ । भेलाले यो कदमले गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई क्रुर मोड दिएको बताएको छ । भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको बलिदानीबाट स्थापित गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता जस्ता राजनीतिक उपलब्धीहरुमाथिको प्रहारलाई निरन्तरता दिँदै चालिएको यो प्रतिगामी कदमको सशक्त प्रतिवाद नगरे जनताले प्राप्त गरेको सिमित उपलब्धि पनि गुम्ने खतरा टड्कारो देखिएको छ । त्यसैले कोर्स करेक्सन गर्दै यो प्रतिगामी कदम तुरुन्त बदर गर्न हामी जोडदार माग पनि गर्दछौं ।’ भेलाले कुनै राजनीतिक दलको आन्तरिक खिचातानी वा शक्ति संघर्षप्रति आफ्नो प्रत्यक्ष चासो नभए पनि आफूहरु आन्दोलित हुनको मूख्य कारण लामो संघर्षपछि प्राप्त नागरिक अधिकार, राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको मूल्य मान्यतामा संविधानको प्रतिपालन र रक्षा गर्नुपर्नेहरुबाटै प्रहार हुनु रहेको जिकिरसमेत गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘कोरोना विश्वव्याधीले उत्पन्न गरेको जनस्वास्थ्य संकट तथा सरकारको समेत नालायकीका कारण व्यापार, व्यवसाय, कृषि, उद्यम सबैतिर पर्न गएको प्रतिकुल असर तथा जनताले दैनन्दिन जीवनमा भोगिरहेको अत्यन्त असहज परिस्थितिको सामना गर्न उद्यत हुनुपर्ने बेला प्रधानमन्त्री ओलीले चालेको यो गैरसंवैधानिक कदम भत्सर्नायोग्य मात्र होइन, अमानवीय पनि छ ।’ भेलाले यसलाई प्रतिगामी संवैधानिक कूको संज्ञा दिँदै लोकतन्त्रप्रेमी सबै तप्काका नागरिकलाई आ–आफ्नो ठाउँबाट आ–आफ्ना माध्याममार्फत सशक्त प्रतिरोधमा उत्रन आह्वान गरेको छ । स्रोत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार