ओलीको ‘मिसन मधेश’…..

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले आफ्नो सम्पूर्ण ध्यान प्रदेश २ मा केन्द्रीत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति मधेश सकारात्मक छैन । प्रधानमन्त्री ओलीका लागि आगामी दिनमा मधेश नै बाधक हुनसक्ने आँकलनसहित अहिले सम्पूर्ण ध्यान मधेशमा केन्द्रीत गरिएको हो । यो जिम्मा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री इश्वर पोखरेललाई दिइएको छ । उनले दिनहुँ मधेशका नेता तथा कार्यकर्ताहरुसँग सम्पर्क गरिरहेका छन् । नेकपा (प्रचण्ड–माधव पक्ष) का नेतालाई तान्नका लागि सम्पूर्ण शक्ति लगाइरहेका छन् । त्यसका लागि उनी केही हदसम्म सफल पनि भएका छन् । केही सांसद तथा कार्यकर्ताहरु ओली पक्षमा तानेका छन् । प्रदेश २ बाहेक प्रदेश १ र लुम्बनी प्रदेशमा पनि मधेशी समुदायको बसोबास रहेका छन् । ती मध्ये ओली पक्षको सबभन्दा कमजोर भनेको प्रदेश २ मा नै हो । प्रधानमन्त्री ओलीले शुरुमै प्रचण्ड–माधव पक्षमा रहेका नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहलाई आफूतिर तान्न सफल भए । त्यसपछि रघुवीर महासेठलाई ताने । प्रभु साहलाई आफ्नो पक्षबाट मन्त्री नै बनाइ दिएका छन् । प्रदेश अध्यक्ष प्रभु साह, सचिव सुशील प्याकुरेल र इन्चार्ज सत्यनारायण मण्डल ओली पक्षमा रहे पनि बाँकी प्रदेशका पदाधिकारीहरु प्रचण्ड–माधव पक्षमा नै रहेको प्रदेश सह–ईन्चार्ज महेन्द्र पासवानले दाबी गर्छन् । तर, आफू ओली पक्षमा लागेपछि प्रभु साहले प्रदेश २ का ६ सांसदलाई प्रचण्ड–माधव पक्षबाट तान्न सफल भए । बाराका सांसद मोहम्मद समिर, सिरहाका सांसद फुलियादेवी सदा, दीलिपकुमार साह, रौतहटका कुन्दनप्रसाद कुशवाहा, बाराकै ज्वाला कुमारी साह, धनुषाका रामचन्द्र मण्डललाई अ‍ोली पक्षमा ल्याइसकेका छन् । उनीहरु सबै पूर्वमाओवादी हुन् ।  प्रधानमन्त्री ओलीले आफू मधेशमा कमजोर भए त्यसको विकल्पमा दुई विकल्प तयार गरेर राखेका छन् । पश्चिम मधेशमा हृदयेश त्रिपाठी र पूर्वी मधेशमा सीके राउत स्ट्याण्डबाइ छन् । तत्कालिन एमालेको चुनाव चिन्हबाट चुनाव जितेका त्रिपाठी अहिले पनि ओली नेतृत्वको सरकारमा मन्त्री छन् । उनी पहिला पनि एमालेमा प्रवेश गर्न चाहेका थिए, तर पदमा कुरा नमिल्दा पार्टी प्रवेश हुन सकेन । तर मधेशमा आफ्नो पकड बनाउन अ‍ोलीले त्रिपाठीलाई ‘जगेडा’ राखेका छन् । त्रिपाठीको मधेशमा राम्रो पकड भएको मानिन्छ । त्यस्तै प्रदेश २ पनि सिके राउतलाई जगेडामा राखिएको छ । मधेश प्रदेशमा कमजोर हुन थालेपछि ओलीले सिके राउतलाई प्रयोग गर्न सक्ने आँकलन गरिएको छ । नेपालबाट मधेशलाई अलग गर्ने अभियानमा रहेका सिके राउतलाई केपी शर्मा ओलीले नै मूलधारमा ल्याएर जनमत पार्टी गठन गर्न लगाएको धेरैको बुझाइ छ । सिके राउतले ओलीबाट राजनीतिक संरक्षण पनि पाइरहेका छन् । त्यसैले आवश्यक परे सिके राउतले ओलीलाई नै साथ दिने बुझाइ छ ।  प्रधानमन्त्री ओलीले प्रदेश २ मा पकड बनाएको जनता समाजवादी पार्टी नेपालबाट पनि नेता तान्न थालेका छन् । मधेश आन्दोलनमा सक्रिय भएर लागेका र संविधान सभा सदस्य भइसकेका बबन सिंह जसपा नेपाल छाडेर ओली पक्षमा लागेका छन् । त्यस्तै, मधेश आन्दोलनमा सबभन्दा बढी ओलीको विरोध गर्ने सरोज मिश्र पनि जसपा नेपाल छाडेर ओली पक्षमा प्रवेश गरिसकेका छन् । प्रदेश २ बाट अझै केही नेतालाई आफ्नो पक्षमा ल्याउने तयारीमा ओली पक्ष लागेका छन् । हिजै मात्र उपप्रधानमन्त्री पोखरेल सिरहामा गएर कार्यकर्ता भेला गरेर फर्किसकेका छन् ।स्रोत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार