गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले लगाएर कोरोनाबिरुद्धको खोपको शुभारम्भ गरिएको छ । प्रतिष्ठान प्रांगणमा आयोजित औपचारिक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा.अर्जुन आचार्यलाई कोभिशिल्डको किट हस्तान्तरण गरेका थिए । लगत्तै स्वास्थ्यकर्मीले उपकुलपति डा.थापालाई खोप लगाईदिएका थिए । डा.थापालाई खोप लगाए लगत्तै प्रदेशका सबै ११ वटै जिल्लामा खोप लगाउन शुरु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । खोप शुभारम्भमा बोल्दै मुख्यमन्त्री गुरुङले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको खोप लगाएर सम्पूर्ण नेपालीलाई सुरक्षित बनाउने सपना पुरा हुन लागेको बताए । उनले प्रदेशबासीलाई सुरक्षित बनाउन अझ धेरै खोप ल्याएर लगाउन प्रदेश सरकार लागिपरेको बताए । मुख्यमन्त्री गुरुङले कोभिशिल्ड विश्वसनीय भएकै कारण नेपालमा लगाउन शुरु गरिएको बताए । प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले कोरोना खोप लगाएर प्रदेशबासीलाई सुरक्षित बनाईने बताईन् । निर्देशक डा.विनोदविन्दु शर्माले खोप सुरक्षित रहेको दाबी गरे । यद्वपी लगाउने क्रममा टाउको दुख्ने, ज्वरो आउने लगायतका सामान्य लक्षण देखिनसक्ने उनले बताए । गण्डकी प्रदेशमा पहिलो चरणमा माघ १४ गतेदेखि १८ गतेसम्म खोप लगाइनेछ । पहिलो चरणमा गण्डकी प्रदेशमा १७ हजार ३ सय ९६ जनामा कोरोना भाईरसबिरुद्धको खोप लगाइने सामाजिक विकास मन्त्री पुनले जानकारी दिइन् । उनका अनुसार पहिलो चरणमा कास्कीमा ५ हजार ६ सय ७१, स्याङ्जामा १ हजार ५ सय ४१, लमजुङमा १ हजार ५ सय ८२, बागलुङमा १ हजार ७ सय ७०, गोरखा १ हजार ८ सय ८, पर्वत १ हजार २ सय ३९, तनहुँमा १ हजार ६ सय ९९, म्याग्दीमा ८ सय ४३, नवलपुरमा १ हजार ५२ तथा हिमाल पारिको जिल्ला मुस्ताङमा २ सय १९ र मनाङमा २ सय ६ जनालाई खोप लगाईनेछ । पहिलो चरणमा सरकारी अस्पताल, गैरसरकारी अस्पताल, नीजि अस्पताल र मेडिकल कलेजहरुमा कार्यरत चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई लगाइने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक शर्माले जानकारी दिए । पहिलो चरणमा खोप लगाएकाहरुलाई २८ दिनपछि दोश्रो खोप लगाइने उनले बताए । गण्डकी प्रदेशमा ३९ हजार १ सय ३९ मात्रा भ्याक्सिन आइसकेको छ । प्राप्त भ्याक्सिन सुरक्षित रुपमा भण्डारण गरिएको र आवश्यक्ता अनुसार वितरणसमेत गरिएको निर्देशक शर्माले बताए । श्राेत:एनअेाएन












