तामझामका साथ लिखित जवाफ दिन सर्वोच्च पुगे प्रधानमन्त्री…..

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् । उनी बिहीबार बिहान सर्वोच्च पुगेका हुन् । ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए । अदालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए । म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार उनी जवाफ लिएर अदालत गएका हुन् । प्रधानमन्त्री आउने भएपछि सर्वोच्च अदालत परिसरमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएका थिए । न्यायाधीश शर्माकै इजलासले पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलना मुद्दामा पनि आफैं उपस्थित भएर लिखित जवाफ दिन आदेश गरेको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहालविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । उनलाई पनि लिखित जवाफसहित आफैं उपस्थित हुन भन्ने आदेश न्यायाधीश शर्माको इजलासले दिएको थियो । अवहेलना मुद्दा लगाइएका चार पूर्वप्रधानन्यायाधीशले भने अदालतमै म्याद बुझेर सोमबार लिखित जवाफ दिएका छन् ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार