कोभ्याक्स सुविधाको खोप आउँदै……

सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउन थालेको जानकारी दिए । उनका अनुसार २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले एकैपटक नभई पटकपटक पठाउने छ । विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइअन्स’ (गाभी) लगायत संस्थाले निम्न आय मुलुक भएका देशलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ । ‘कोभिशिल्ड’ खोप विश्व स्वास्थ्य सङ्गठनमा सूचिकृत भएकोले नै कोभ्याक्सले सोही खोप पठाउन थालेको हो । यसअघि नेपालमा उक्त खोप लगाउन थालिएको छ । भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेबाट लगाउन थालिएको थियो। केही दिनअघि मात्र सरकारले कोभिशिल्ड २० लाख मात्रा खोप किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ । उक्त खोप पनि केही हप्तामा आउने आउने उनले बताए । यस्तै चीन सरकारले पनि सरकारलाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । चीनले ‘भेरोसिल’ नामक खोप उपलब्ध गराउने भनेको छ । उक्त खोप औषधि व्यवस्था विभागले समेत सूचिकृत गरिसकेको छ । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार