विपक्षमा फैसला भए आन्दोलन…..

मोरङ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने अडान दोहोर्‍याएका छन् । नेकपा ओली समूहको प्रदेश १ कमिटीले शनिबार विराटनगरमा गरेको जनसभामा उनले ‘जनता (विघटन) को विपक्षमा अदालतको फैसला आए’ आन्दोलनमा उत्रने चेतावनीसमेत दिए । ‘कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला भयो भने हाम्रो आन्दोलन अगाडि बढ्छ,’ उनले भने । ओलीले उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा नराखेको भन्दै आलोचनासमेत गरे । उपराष्ट्रपति पुनले नेपाल पत्रकार महासंघको अधिवेशनमा प्रतिनिधिसभा विघटनको विरोधमा दिएको अभिव्यक्तिको ओलीले आलोचना गरेका हुन् । उनले सरकारविरुद्ध भाषण गर्दै हिँड्नुभन्दा निर्वाचनमा आउन पुनलाई चुनौती दिए । ‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गर्दै हिँड्नुभएको छ, उहाँको पदले भाषण गरेर सरकारको विरोध गरेर हिँड्ने अनि संविधान मिचियो, प्रजातन्त्र मासियो, प्रतिनिधिसभा विघटन गरेर बेठीक भयो, चुनाव गर्न पाइँदैन भन्ने हो ?’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँ त चुनाव नगर्ने नै पृष्ठभूमिबाट आउनुभएको हो । अब त कमसेकम चुनावतिर आउनुहोस् । प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले पदीय मर्यादाविपरीत कार्य गरेको टिप्पणी गरे । ‘सभामुख बनाइएको थियो एक जनालाई, सरकारविरुद्ध मुद्दा हाल्न जानुभएको छ । सरकारविरुद्ध झगडिया हो सभामुख ? सुहाउँछ ?’ उनले भने, ‘भन्न पनि लाज लाग्ने कुरा, सभामुखजस्तो पदको मान्छेले किर्ते सनाखत गर्छ ? साढे ३ बजे दर्ता गर्न लगेको कुरालाई १०ः४० बजे ल्याएको भनेर किर्ते सनाखत गर्नुजस्तो लज्जास्पद कुरा के हुन्छ ?’ संवैधानिक परिषद्बाट संवैधानिक निकायमा भएका नियुक्तिविरुद्ध परिषद् सदस्यसमेत रहेका सभामुख सापकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए भने प्रधानमन्त्रीविरुद्ध नेकपाका सांसदहरूले ल्याएको अविश्वासको प्रस्ताव दर्ताको समयलाई लिएर विवाद उत्पन्न भएको थियो । प्रधानमन्त्री ओलीले नेकपाको अर्को समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाललाई पार्टीमा फर्किन आग्रह गरेका छन् । उनले दाहाल पार्टीमा नफर्किए सिद्धिने दाबी गरे । ‘अध्यक्ष दाहाल पार्टीमा फर्किनुहुन्न र भीरबाटै लड्न खोजेको हो भने भीरबाट लड्ने मान्छेलाई राम भन्न सकिन्छ, काँध हाल्न सकिँदैन,’ उनले भने, ‘उहाँ फर्किने बाटोमा हिँड्नुभएको छैन, सिधै सिद्धिने बाटोमा हिँड्नुभएको छ । कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले चुनावलाई लक्ष्य गर्दै आयोजना गरेको सभामा विकासे योजनाको आश्वासन सुनाएका थिए । सूर्य चिह्न पनि आफूहरूकै हुने दाबी गर्दै उनले चुनावमा आत्मविश्वासका साथ अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए । सभामा गृहमन्त्री रामबहादुर थापाले नेकपा दाहाल–नेपाल समूहले मुलुकमा बाहिरी शक्तिलाई खेल्ने असामान्य परिस्थिति उत्पन्न गराएर अस्थिरता निम्त्याएको आरोप लगाए । ‘अहिले हामी असामान्य परिस्थितिबाट गुज्रिरहेका छौं, संसद् विघटन भएको छ, देशलाई अस्थिरतातिर धकेल्ने प्रयास गरिएको छ,’ उनले भने, ‘यो देशमा अस्थिरता उत्पन्न कुनै बाह्य शक्तिहरूद्वारा गरिएको होइन, हाम्रै आन्तरिक पंक्तिबाट अस्थिरताको षड्यन्त्र रचियो । अहिलेको परिस्थिति हाम्रै पंक्तिबाट अवसरवादी, गुटवादी र पदलोलुपहरूले जन्माएका हुन् । अहिलेको अस्थिरताबाट मुलुकलाई अघि बढाउन प्रधानमन्त्री ओलीको नेतृत्वमा काम भइरहेको थापाको भनाइ थियो । ‘अहिलेको परिस्थितिबाट नेकपाभित्र लुकेका अवसरवादी खुसी छन् तर आमजनता दुःखी र आक्रोशित भएका छन्,’ उनले भने, ‘ओलीको नेतृत्वमा देशभरि शुद्धीकरण अभियानले पार्टीलाई एकताबद्ध बनाइरहेको छ ।’ उनले दाहाल–नेपाल पक्षले केही मन्त्री ओली समूह छाडेर आफूतिर आइरहेको भन्ने भ्रम फैलाएको बताए । पार्टी एकता अभियानले आतंकित र भयभीत भएर दाहाल–नेपाल समूह भ्रमको खेतीमा लागेको उनको भनाइ थियो । दाहाल–नेपाल समूहले जर्मनीका शासक हिटलरका सञ्चारमन्त्री गोयबल्सको जस्तै झूटको प्रचार गरिरहेको थापाले बताए । ‘ताजा जनादेश लिने कुरा लोकतान्त्रिक र अग्रगामी कदम हो,’ उनले भने, ‘जस्केलाबाट षड्यन्त्रकारी ढंगबाट सरकारको नेतृत्व हत्याउन खोजेपछि प्रधानमन्त्रीज्यूले गरेको संसद् विघटन ऐतिहासिक, क्रान्तिकारी, ठूलो राजनीतिक कदमका साथै संवैधानिक पनि छ । गृहमन्त्री थापाले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कानुनको कठघरामा ल्याउने दाबी गरे । उनले सरकारले अपराधी र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको दाबी गरे । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले नेपाली जनताले निर्वाचनको पक्षमा फैसला गरिसकेको बताए । ‘नेपाली जनताले सडकमा उत्रेर निर्वाचनको पक्षमा फैसला गरिसकेका छन् तर हामी सर्वोच्च अदालतको फैसला कुरिरहेका छौं,’ उनले भने, ‘अदालतका सहयोगी भनेर चिनिने एमिकस क्युरीले धारणा राखिसकेकाले फागुन ११ देखि १५ गतेभित्र सर्वोच्च अदालतले फैसला सुनाउँछ । आफू कानुनको विद्यार्थी भएको उल्लेख गर्दै उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा नबोल्ने बताए । प्रधानमन्त्री प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता हुँदैन भन्नेमा विश्वस्त रहेको र आफू प्रधानमन्त्रीप्रति विश्वस्त रहेको उनले बताए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपामा दाहाल–नेपाल पक्षले प्रदेशमा भाँजो हाल्न लागेको आरोप लगाएका छन् । उनले प्रदेश कब्जा गर्न नदिने बताए । चुनावका लागि निर्वाचन आयोगले तयारी थालेको र राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिनका लागि तयारी गरिरहेको उनको भनाइ थियो । सभामा ओली समूहका केन्द्रीय सदस्य बालकृष्ण ढुंगेलले दाहाल–नेपाल समूहको चर्को विरोध गरेका थिए । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार