यो वर्ष कोरोना महामारी अन्त्य हुँदैन : विश्व स्वास्थ्य संगठन……

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले यस वर्षको अन्त्यसम्म पनि कोरोना महामारीको अन्त्य नहुने बताएको छ । डब्लूएचओका आपत्कालीन विभागका निर्देशक डा. माइकल ऱ्यानले आइतबार जेनेभामा आयोजित मिडिया ब्रिफिङ क्रममा यो वर्ष कोरोना महामारीको अन्त्य नहुने बताएका हुन् । डा. ऱ्यानले भने, ‘यही वर्षको अन्त्यसम्म कोरोना महामारीको अन्त्य हुन्छ भनेर सोच्नु असुहाउँदो र अपरिपक्व कुरा हो । तर यदि हामी सही ढंगले अघि बढ्यौँ भने अस्पताल भर्ना हुने बिरामीको संख्या र कोरोनाबाट हुने मृत्युलाई भने पक्कै घाटाउन सक्छौं ।’ त्यस्तै डब्लूएचओका महानिर्देशक डा. टेड्रोस गेहब्रेयसस एड्हानोमले कोरोना महामारीको नियन्त्रणमा खोपमा मात्रै भर पर्न नहुने बताएका छन् । उनले भने, ‘खोपले पक्कै पनि मानिसको ज्यान बचाउँछ । तर मुलुकहरु खोपमा मात्रै निर्भर हुनुहुँदैन, त्यसो गरे ठूलो गल्ती हुनेछ ।’ कोरोना महामारीको नियन्त्रण र रोकथामका लागि खोपका साथै सार्वजिनक स्वास्थ्य मापदण्डहरु पूर्ण रुपमा पालन गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘स्वास्थ्य निकायहरुले परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेसन, क्वारेन्टाइन र गुणस्तरीय हेरचाहमा विशेष ध्यान दिनुपर्छ ।’ व्यक्तिगत रुपमा पनि मानिसहरुले भीडभाड नगर्ने, भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुनेलगायतका कामलाई निरन्तरता दिनुपर्ने डा. टेड्रोसको भनाइ छ । त्यस्तै महानिर्देशक टेड्रोसले केही मुलुकले स्वस्थ र युवा पुस्तालाई कोरोना खोप अभियानमा प्राथमिकता दिएकोमा चिन्ता व्यक्त गरे । त्यस्तै उनले कोरोनाविरुद्धको लडाइँमा देशहरुले एकअर्कासँग प्रतिस्पर्धा गर्न नहुने पनि बताए । कोरोनाविरुद्ध सबै मुलुकको साझा लडाइँ हुनुपर्नेमा पनि उनले जोड दिए । सन् २०१९ डिसेम्बरबाट चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट विश्वभर ११ करोड ४४ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । त्यस्तै मंगलबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २५ लाख ३७ हजार नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार संक्रमण पुष्टि भएकामध्ये ६४ लाख ६० हजारभन्दा बढी निको भएका छन् । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा २ करोड ८६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ५ लाख १४ हजारभन्दा बढीको मृत्यु भएको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार