काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आएपछि फोहर पानी व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण हुने देखिएको छ । उपत्यकामा अहिले पनि फोहर पानी व्यवस्थापनमा समस्या आउने गरेकामा मेलम्चीको पानी आएपछि समस्या अझै बढ्ने देखिएको छ । बर्सेनि वर्षाको समयमा आकाशे पानी र धारामा आउने पानी गरी ठूलो परिमाणमा पानी हुँदा व्यवस्थापन गर्न नसकिँदा काठमाडौँ उपत्यकाका सडक जलमग्न हुने गरेको छ । ढलको निर्माण फरकफरक निकायबाट भएकाले पनि पर्याप्त समन्वय हुन नसकेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । विभिन्न निकायले ढल निर्माण गरेर पनि समस्या आउँदा लिमिटेडले नै त्यसको समाधान गर्ने गरेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनले भने, “फरक निकायले ढल निर्माण गरेकाले पनि व्यवस्थापन गर्न गाह्रो छ । मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ । वर्षामा पानीको परिमाण दोब्बर हुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । त्यस्तै लिमिटेडले आन्तरिक स्रोतबाट नौदेखि ११ करोड लिटरसम्म पानी वितरण गर्दै आएको छ । सबै गरी पानीको परिमाण बढ्दा फोहर पानीको परिमाण बढ्नु स्वभाविक भएको गुठी संस्थाका प्राविधि सल्लाहकार प्रकाश अमात्यले बताए । मेलम्चीको पानी वितरणका लागि पाइपको निर्माण गरिएपनि त्यो पानीबाट निस्कने फोहरपानी व्यवस्थापन गर्न ढल नबनेको उनले बताए । फोहर पानी खोलामा पुग्नु पहिले सडकमा पानी भरिएर जलमग्न हुनसक्ने उहाँको भनाइ छ । उनले भने, “अहिलेबाट नै ढल व्यवस्थापनको तयारी नगर्ने हो भने भविष्यमा ठूलो समस्या आउनसक्छ । फोहर पानी व्यवस्थापनमा प्राविधिक हिसाबले जम्मा खपत हुने पानीमध्ये ८० प्रतिशत पानी ढलमा फर्किएर जान्छ भन्ने मान्यता छ । त्यस हिसाबले पनि ढलमा चाप बढ्ने देखिएको छ । उपत्यकाका ढल भरिने विभिन्न स्थानबाट चुहावट हुँदा फोहरपानी निस्कने र खोलामा पानीको परिमाण बढ्ने देखिएको छ । सरकारले विभिन्न स्थानमा फोहर पानी प्रशोधन केन्द्रको निर्माण गरे पनि पानी त्यहाँसम्म पुग्ने ढलको व्यवस्थापनमा ध्यान नदिएको पाइएको अमात्यले बताए । गुहेश्वरीमा केन्द्र निर्माण सम्पन्न भइसकेको छ भने बालकुमारी, सल्लाघारी र सुन्दरीघाटमा निर्माणाधीन छन् । गुहेश्वरीमा केन्द्र निर्माण सम्पन्न भए पनि फोहर पानी त्यहाँसम्म पुग्न ढल पर्याप्त नभएको पाइएको बताए । उनले भने, “हतारमा काम गर्दा त्यसको परिणाम के हुन्छ भन्ने सोचेर नगरेको पाइन्छ । ढल निर्माण एउटै निकायबाट नभएको र निर्माण गर्ने निकायबीच समन्वय नभएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । अहिलेसम्म कुन ठाउँमा कुन आकारको ढल आवश्यक छ भन्ने विचार नगरी ढल निर्माण भएको पाइन्छ । खानेपानी मन्त्रालय, लिमिटेड, शहरी विकास मन्त्रालय, स्थानीय तहलगायतले ढल निर्माण गरेको पाइन्छ । ढलमा फोहरपानीको परिमाण बढेपछि ढल सफा नभए मङ्गलबाट पानी निस्कने सम्भावना रहने शाक्यले बताए । सबै निकायले आआफूले निर्माण गरेको ढल आफैँले सफा गरेमा समस्या नआउने उनको भनाइ छ । अरु निकायले पनि आफूले बनाएको ढल कहाँ कहाँ छ भनेर नक्सा र कुन आकारको ढल छ भनी विवरण राख्नुपर्ने उनको भनाइ छ । तीनले ढल आफैँ पनि सफा गर्नुपर्ने र लिमिटेडलाई पनि विवरण उपलब्ध गराउनुपर्ने उनले बताए । फोहर पानीको समस्या आएपछि मात्रै लिमिटेडलाई खोज्ने प्रवृत्ति रहेको उनले बताए । उनले भने, “ती निकायले निर्माण गरेपछि हामीलाई ड्रइङ उपलब्ध गराएमात्रै हामीलाई काम गर्न सजिलो हुनेछ । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आएपछि फोहर पानीको परिमाण बढ्न सक्ने भएकाले आवश्यक तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । लिमिटेडले ढलको समस्या आउन सक्ने सम्भावित ठाउँको पहिचान गरेर समाधानको काम अघि बढाइरहेको छ । दीर्घकालीन समाधानका लागि भने ढल निर्माण र व्यवस्थापनको ‘गुरुयोजना’ नै आवश्यक रहेको छ । हिउँद र वर्षा जुनसुकै समयमा ढल नियमित हुने गरी चालु अवस्थामा राख्नुपर्ने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । फरक फरक निकायले राखेकाले कतै ढल आवश्यकताभन्दा सानो त कतै ठूलो आकारको छ । काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन तयारी अघि बढिरहेको छ । मेलम्ची खानेपानी विकास समितिले गत साताबाट सुरुङको पुनः परीक्षण शुरु गरेको हो । गत असारमा सुरुङको परीक्षणका क्रममा दुर्घटना भएपछि त्रुटि सच्याएर पुनः परीक्षण गरिएको हो । परीक्षण सफल हुनासाथ उपत्यकामा नियमित पानी वितरण हुनेछ । पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने बताइएको छ । श्राेत: रापा












