एमालेको स्पष्टीकरण पत्रमा नेपाललाई प्रश्नको वर्षा…..

काठमाडौं, नेकपा एमालेले नेता माधव कुमार नेपाललाई १० बुँदे स्पष्टीकरण सोध्दै नेपाल साविकको नेकपा हुँदादेखि हालसम्म प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लाग्नुको कारण माग गरेको छ । नेपाललाई चैत ८ गतेको मितिमा पठाइएको स्पष्टीकरण पत्रमा अधिकांश विषय नेकपामा हुँदादेखि नै प्रचण्डसँग मिलेर ओलीविरुद्ध लाग्नुको कारण माग गरिएको छ । शनिबारको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सोधिएको स्पष्टीकरण पत्रमा साविकको नेकपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध १९ पृष्ठ लामो प्रस्ताव ल्याउनुका साथै त्यसलाई पुस्तकका रुपमा प्रकाशित गरेर वितरण गर्दा प्रचण्डको मतियार किन भएको भनि प्रश्न गरिएको छ । महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको स्पष्टीकरण पत्रमा नेकपाको विधानविपरीत सडकबाट ओलीलाई अध्यक्ष र साधारण सदस्य समेतबाट के आधारमा निष्काशनको निर्णय गर्नु÷गराउनु भयो भन्ने जवाफ माग गरिएको छ । यसैगरी निर्वाचन आयोगमा पार्टी विधान र हित विपरित किन निवेदनहरू दिएको भन्ने प्रश्न पनि गरिएको छ भने स्पष्टीकरणको अर्को बुँदामा पार्टी फुटाउने उद्देश्यले पार्टीको नाम, चिन्ह र झण्डासमेत कुनै एउटा समूह वा गुटले मात्र गर्ने उद्देश्यका साथ निवेदन बोकेर किन निर्वाचन आयोगमा पुग्नुभयो भन्ने प्रश्न गरिएको छ । साथै पार्टी फुटाउँदा कुन उद्देश्य हासिल हुने हो भनि प्रश्न समेत गरिएको छ । स्पष्टीकरण पत्रमा भनिएको छ, ‘पार्टी फुटाउने उद्देश्यले पार्टीको नाम, चिन्ह र झण्डासमेत कुनै एकता समूह वा गुटले प्रयोग गर्ने गराउने उद्देश्यका साथ विभिन्न कथित निवेदनलाई लिई निर्वाचन आयोगमा पटक पटक किन जानु भएको हो ? र पार्टी फुटाउँदा के–कुन उद्देश्य हासिल हुने हो ?’ पार्टी अध्यक्ष र महासचिवले मौखिक तथा लिखित रुपमा दिएको निर्देशनविपरीत राष्ट्रिय भेला र समानान्तर गतिविधि किन गरेर फुटको अगुवाइ किन गरेको भन्ने प्रश्न पनि नेपाललाई गरिएको छ । यसबाहेक पार्टी नेतृत्वको प्रधानमन्त्री विरुद्ध पुस ५ गते अविश्वासको प्रस्ताव दर्ता गर्नमा किन लागेको भन्ने प्रश्न समेत गरिएको छ । यस्तै भेला तथा समानान्तर गतिविधि गरि पार्टी एकता विरोधी गतिविधि गर्नुका साथै ओली सरकार ढालेर अन्य दलका नेताको नेतत्वमा सरकार बनाउन षड्यन्त्र गर्नुको कारण पनि माग गरिएको छ । यस्तै बुटवलमा प्रचण्डले दिएको अभिव्यक्तिमा मौन बस्नुको कारण पनि माग गरिएका छ भने उल्लेखित प्रश्नको जवाफसहित ३ दिनभित्र कारबाही गर्न नपर्नुको चित्तबुझ्दो जवाफ बुझाउन निर्देशन एमालेले नेपाललाई दिएको छ । एमालेले स्पष्टीकरण सोधका नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले स्पष्टीकरण पत्र बुझिसकेका छन् । यसैबीच ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ लिखित रुपमै फर्काउने माधव नेपाल पक्षले निर्णय गरेको छ । ललितपुरमा सोमबार सम्पन्न माधव झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निष्कर्षमा सो समूह पुगेको हो । ‘महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको पत्र आज प्राप्त भएको छ, भोलिसम्म यसको लिखित जवाफ तयार हुन्छ,’ माधव- झलनाथका एक नेताले भने ।  श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार