सार्वजनिक स्थानमा होली खेल्न रोक…..

काठमाडौं, होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले बताए । यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ । ‘भीडभाड गरेमा प्रहरीले कारवाही गर्छ,’ सह–सचिव बुढाले रातोपाटीसँग भने, ‘सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गरेर कारवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौँ । स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ । संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । यता, भीडभाडमा हुन नदिने मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले पनि उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ लागु गरेको छ । चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाइँदै छ । होलीमा भीडभाड हुन नदिन र जबर्जस्ती लोला हान्ने कामलाई रोक्न जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीले माइकिङ गर्न थालेका छन् । काठमाडौं उपत्यकामा होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न ५ हजार प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ । ‘कानुन विपरितका गतिविधि नियन्त्रण गर्न सुरक्षा योजनासहित ५ हजार बढी प्रहरी परिचालन गर्छौँ,’ महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले भने–‘सार्वजनिक ठाउँमा भीड गर्न र कानुन विपरितका क्रियाकलाप हुन दिँदैनौँ ।  जबर्जस्ती लोला हान्ने र अन्य व्यक्तिलाई डिस्टर्व गर्नेहरुलाई पनि नियन्त्रणमा लिएर कानुनी कारवाही गर्ने प्रहरीको योजना छ ।  जबर्जस्ती गर्ने र अनावश्यक हैरानी दिनेलाई कारवाही गर्छौँ, एआईजी पालले  भने परिवारमा बसेर होली मनाउन र सुरक्षा सतर्कता अपनाउन माइकिङ गर्न शुरु गरिएको छ । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार