ओलीको पतन निश्चित छ : खनाल–नेपाल…..

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहमा रहेका ११ जना स्थायी कमिटीका नेताहरुको बैठकले अध्यक्ष केपी शर्मा ओलीबाट हुने सम्भावित कारवाहीका लागि मानसिकरुपमा तयार हुनुपर्ने निचोड निकालेको छ । अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई सोमबार ६ महिनाका लागि निलम्बन गरेपछि मंगलबार आकस्मिकरुपमा बसेको सो पक्षको स्थायी समिति बैठकले यस्तो निचोड निकालेको हो । मंगलबारको बैठकमा वरिष्ठ नेताहरु खनाल र नेपालले संक्षिप्त धारणा राखेका थिए । दुवै नेताहरुले ओलीको सम्भावित कारवाही र आफ्नो पक्षको भावी रणनीतिबारे सामान्य ब्रिफिङ गरेका थिए । ‘कारवाहीबाट आत्तिने र डराउने कुरा छैन । ओलीको निरंकुशताका विरुद्ध विचार र सिद्धान्तका आधारमा थप सशक्त र प्रभावकारी बनाउन जरुरी छ । त्यसमा हाम्रा अभियानहरू विस्तारै मजबुत बनाउँदै लानुपर्छ’, नेता नेपालको भनाइ उद्धृत गर्दै एक नेताले रातोपाटीसँग भने, ‘ओलीको पतन निश्चित छ । त्यस्तै खनाल नेपाल पक्षले ओलीबाट भएका र हुने कारवाहीले ओली आफैं थप कमजोर बन्दै जाने भएकाले आफूहरु पार्टी फुटाउन अग्रसर नहुने तर समानान्तर गतिविधिलाई अरु बढाउँदै लैजाने निचोड निकालेको ती नेताले बताए । ओली राजनीतिक चरित्र भएका व्यक्ति होइनन् भन्ने पुष्टि भएको छ । त्यसैले अब उनी कम्युनिस्ट आन्दोलन र एमाले जोगाउनभन्दा पनि फुटाउन अग्रसर छन् । तर हामी पार्टी फुटाउने कदमको विरोधमा रहन्छौं । ओलीले त आफूलाई एक उदाउँदो तानशाहका रुपमा स्थापित गर्न खोजेका छन् । सोही अनुसार हाम्रा दुई नेतामाथि कारवाही भएको हो । हामीले उक्त कारवाहीलाई सोही अनुसार विश्लेषण गरेका छौँ’, सो समुहका अर्का सदस्यले रातोपाटीसँग भने, ‘अब उनले कारवाही थप बढाउदै लानेछन् । त्यसका लागि हामी मानसिक रुपमा तयार हुनैपर्छ । ती सदस्यका अनुसार नेपाल र रावलमाथिको कारवाही दुईजना व्यक्तिमाथिको मात्रै नभएर सिंगो समूहमाथि भएको र त्यसको प्रतिवाद व्यक्तिले नगरी समूहबाटै गर्दा उपयुक्त हुने भएकाले सोही अनुसार संयुक्त वक्तव्य निकालेर विरोध गरिएको हो । त्यस्तै ,उनले ओलीको कारवाहीले आफ्नो पक्षलाई समानान्तर गतिविधि गर्न थप खुला भएको ठहर पनि गरेको बताए । ‘अब हामी आफ्ना कार्यक्रम केन्द्रमा मात्रै होइन, प्रदेशदेखि जिल्ला हुदै वडातहसम्म पु¥याउँछौँ । नभएका ठाउँमा कमिटीहरु विस्तार गर्दै लैजान्छौ’, ती सदस्यको भनाइ छ । स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले मंगलबारको स्थायी समिति बैठक आकस्मिक भएको र नेताहरुको पनि व्यस्तता भएकाले संयुक्त वक्तव्य तयार गर्नमै केन्द्रित भएको बताइन् । उनले त्यसक्रममा नेताहरुले बोल्ने वा धारणा राख्नेभन्दा पनि सामान्य छलफलपछि हस्ताक्षरसहित वक्तव्य जारी गरिएको बताइन् । उनले कारवाही केन्द्रीत छलफल भएको भन्दै नेताहरु माधव नेपाल र भीम रावलमाथिको मात्रै कारवाही नभएर त्यो सिंगो कम्युनिस्ट आन्दोलनमाथिको प्रहार भएको बताइन् । ‘त्यो कारवाही नेपाल र रावलमाथिको मात्रै होइन । हाम्रो समुहमाथिकै हो । कम्युनिस्ट आन्दोलनमाथिकै कारवाही हो । त्यसैले संयुक्त प्रतिवाद गर्नु उपयुक्त ठानेर संयुक्त वक्तब्य जारी गरेका हौ’, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भनिन्, ‘सामुहिक वक्तव्य नै ओलीविरुद्धको एउटा प्रतिवाद हो । हामीले त्यसमा स्पष्ट भनेका छौं केपी ओली अत्यन्तै स्वेच्छाचारी र निरंकुश हुन् । श्राेत: रापा

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार