शक्ति संगठित गर्दै खनाल–नेपाल समूह…..

कास्की — प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेताहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरेपछि एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति संगठित गर्न थालेको छ । नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि अध्यक्ष ओलीले पार्टी सदस्यबाट समेत निलम्बन गरेपछि खनाल–नेपाल समूहले मुलुकभर समानान्तर कमिटी बनाउन थालेको हो । यसअघि भ्रातृ संगठनहरूमा समानान्तर कमिटी बनाएको खनाल–नेपाल समूहले अब प्रदेश र जिल्ला तहमा संगठन निर्माण गर्न थालेको छ । यसको सुरुवात बिहीबार गण्डकी प्रदेशबाट गरिएको छ । पोखरामा आयोजित खनाल–नेपाल समूहको प्रदेशस्तरीय कार्यकर्ता भेलाले बिहीबारै ओलीबाट कारबाहीमा परेका नेता पाण्डेको नेतृत्वमा गण्डकी प्रदेशमा २२ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ । नेता नेपालले कमिटी घोषणा गरेका हुन् । नेपालले गण्डकी प्रदेशका अधिकांश जिल्लामा समानान्तर कमिटी गठन गरेका छन् । कास्की अध्यक्षमा धनराज आचार्य र सचिवमा होमबहादुर नेपाली, स्याङ्जा अध्यक्षमा रामचन्द्र भट्टराई र सचिवमा भूपराज अधिकारी छन् । म्याग्दी अध्यक्षमा बालकृष्ण सुवेदी, बागलुङ अध्यक्षमा इन्द्रलाल सापकोटा र सचिवमा लालबहादुर थापा, पर्वत अध्यक्षमा भक्त कुँवर र सचिवमा पदमपाणि शर्मा, तनहुँ अध्यक्षमा शंकनारायण श्रेष्ठ र सचिवमा श्रीराम कार्की छन् । गोरखामा यादव बस्नेत अध्यक्ष र सानोमाया बस्नेत सचिव छन् । नवलपुर र लमजुङको अध्यक्ष र सचिवको नाम सार्वजनिक गरिएको छैन । मनाङ र मुस्ताङमा कमिटी गठन गर्न बाँकी रहेको खनाल–नेपाल समूहले जनाएको छ । चैत २९ अघि नै सबै जिल्लामा समानान्तर कमिटी घोषणा कार्यक्रम सम्पन्न हुने स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार भेलामा एघारवटै जिल्लाका सचिवालय सदस्य र नेता–कार्यकर्ताको उपस्थिति थियो । अध्यक्ष ओलीले चार जना नेताहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएपछि खनाल–नेपाल समूह मुलुकभर समानान्तर संगठन निर्माण गरेर अघि बढ्ने निष्कर्षमा पुगेको थियो । तीन दिनअघि खनाल–नेपाल समूहमा आबद्ध ११ जना स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै ओलीका अवैधानिक कदमविरुद्ध संगठित हुन आमकार्यकर्तालाई आग्रह गरेका थिए । अध्यक्ष ओलीले एक–एक गर्दै कारबाही गरेर खनाल–नेपाल समूहको शक्ति क्षीण बनाउने रणनीति अख्तियार गरेपछि उनलाई सफल हुन नदिन समानान्तर कमिटी बनाएर आफू पक्षका नेताहरूलाई जोगाइराख्ने योजना यो समूहले बनाएको हो । खनाल–नेपाल समूहमा रहेका नेता–कार्यकर्ता क्रमशः ओली समूहतिर जान थालेका थिए । नेपाललाई सहयोग गर्दै आएका केही केन्द्रीय नेता पनि ओली समूहमा ढल्किएपछि खनाल–नेपाल समूहले उनीहरूलाई आफूसँगै राख्ने नीति बनाएको हो । त्यही नीतिअन्तर्गत समानान्तर कमिटी गठन थालिएको हो । खनाल–नेपाल समूहले यसअघि नै तीनवटा ठूला भ्रातृ संगठन, युवा संघ, अनेरास्ववियु र अखिल नेपाल महिला संघमा समानान्तर कमिटी बनाएको छ । युवा संघको त छुट्टै कार्यालयसमेत स्थापना गरिसकेको छ । अब केन्द्रीय कार्यालय पनि नयाँ बनाउने योजना नेपालले दुई दिनअघि सार्वजनिक गरिसकेका छन् । काठमाडौं धुम्बाराहीको केन्द्रीय कार्यालय ओली समूहले सल्लाह नै नगरी एकलौटी रूपमा थापाथलीमा सार्ने निर्णय गरेपछि खनाल–नेपाल समूहले पनि आफ्नो पक्षको छुट्टै कार्यालय बनाउन लागेको हो । खनाल–नेपाल समूहले आफू पक्षको कार्यालय राख्ने भवन खोजिरहेको छ । एमाले ब्युँतेको अवस्थामा एकता गर्नुअघिको २०७५ जेठ २ सम्मका कमिटीहरू क्रियाशील हुनुपर्ने माग खनाल–नेपाल समूहको छ तर खनाल–नेपाल पक्षलाई खबरै नगरी प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गत फागुन २८ मा केन्द्रीय कमिटी बैठक गरी माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गराएका थिए । उक्त निर्णय खारेज हुनुपर्ने र वैधानिक ढंगबाट पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने माग खनाल–नेपाल पक्षले गर्दै आएको छ तर ओलीले खनाल–नेपाल समूहको माग सुनेका छैनन् । ओलीले कारबाहीको दायरा बढाउँदै लगेपछि खनाल–नेपाल समूह अब ओलीको ज्यादति सहेर बस्न नसक्ने निष्कर्षमा पुग्दै आफ्नो शक्ति विस्तारमा जुटेको हो । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार