प्रदूषण फेरि भयानक……

गत साता हल्का वर्षापछि कम भएको वायु प्रदूषण र तुवाँलो राजधानीसहित देशभर फेरि विकराल बन्दै गएको छ । वायु प्रदूषणमा लामो समयदेखि अनुसन्धान गर्दै आएको स्विट्जरल्यान्डको जेनेभास्थित ‘आईक्यू एअर’ ले काठमाडौंलाई सोमबारदेखि नै प्रदूषित ९४ सहरमध्ये पहिलो नम्बरमा राखिरहेको छ । काठमाडौंको रत्नपार्कमा मंगलबार साँझ ६ बजेको वायुको गुणस्तर सूचकांक (एक्यूआई) प्रतिघण्टा १९४ छ भने ललितपुरको भैंसेपाटीमा १८९ छ । सबैभन्दा बढी हेटौंडामा एक्यूआई ४४४ छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ सम्म स्वस्थ हुन्छ भने २०१ भन्दा माथिलाई धेरै अस्वस्थकर र ३०१ भन्दा माथिलाई घातक मानिन्छ । सरकारी अधिकारीहरूले यसरी प्रदूषण बढ्नुमा वन डढेलोलाई प्रमुख कारण मानिरहेका छन् । विज्ञप्ति निकालेर सचेत गराएबाहेक मुख्य सरोकारवाला निकाय वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभागले प्रदूषण नियन्त्रणमा सिन्को भाँचेको देखिन्न । विभागमार्फत चालु आर्थिक वर्षमा पनि ‘स्वच्छ वातावरण महाअभियान’ चलिरहेको छ । विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार उक्त अभियानअन्तर्गत १० देखि १२ करोड बजेट छ । वायु प्रदूषणको क्षेत्रमा काम गर्न अलग्गै बजेट विनियोजन भएको छ । प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनुका साथै आँखा र नाक पोल्ने समस्या बढेकाले सतर्क हुन र जरुरी कामबिना बाहिर ननिस्किन विभागले सर्वसाधारणलाई गत सातादेखि नै सचेत गराइरहेको छ । गत पुस महिनामा पनि काठमाडौंसहित देशका विभिन्न भागमा अत्यधिक प्रदूषण बढेको थियो । गत चैत १३ पछि देशका सबैजसो भागमा वन डढेलोको संख्या र फैलावट अत्यधिक बढिरहेको छ । गत साता पश्चिम वायुको प्रभावले हल्का वर्षा हुँदा केही हदसम्म प्रदूषण हटेको थियो । फेरि डढेलोको मात्रा बढेपछि शनिबारपछि प्रदूषण बढिरहेको जोशीको तर्क छ । ‘आईक्यू एअर’ को नक्साले पनि एसियासहित अफ्रिकी मुलुकसम्मै प्रदूषण भरिएको देखाएको छ । ‘आईक्यू एअर’ को तथ्यांकअनुसार करिब दुई सातादेखि एसियाली र अफ्रिकी मुलुकहरूमा बाक्लो तुवाँलोको मात्रा अत्यधिक देखिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले विगतका वर्षहरूको तुलनामा यो वर्षको हिउँददेखि नै लगातार सुक्खा भएको र वायुमण्डलमा प्रदूषण भरिएकाले डढेलो बढेसँगै भयावह अवस्था निम्तिएको बताए । सुक्खा भएको अवस्थामा तुवाँलो लाग्नु स्वाभाविक हो । ‘हिउँदमा पानी परेको भए प्रदूषण घट्थ्यो,’ पौडेलले भने, ‘प्रि–मनसुन अवधि पनि झनै सुक्खा भयो । स्थानीय प्रदूषणमा डढेलोको धूवाँ मिसिएपछि अहिलेको अवस्था आयो ।’ जल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव पर्न थालेको आकलन गरेको छ । बुधबार सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशसहितका स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको भनाइ छ । प्रदूषण बढ्नुको अर्को कारण हावा नचल्नु पनि हो । हावा नचल्दा वायुमण्डल स्थिर छ भने तुवाँलो एकै ठाउँमा तैरिरहेको छ । प्रदूषणका कणहरू छरिन नपाएकाले सोमबारदेखि फेरि प्रदूषणको अवस्था विकराल बनेको हो । केही वर्षयता हिमाली क्षेत्रहरूमा कात्तिकदेखि नै डढेलो लाग्न थालेको हो । मनाङ, गोरखा, लमजुङ, ताप्लेजुङ, बझाङलगायत जिल्लामा लगातार एक महिनासम्म डढेलो लागेको थियो । डढेलो नियन्त्रण गर्न सेना र प्रहरी परिचालन गर्नुपरेको थियो । चिसो याममा लामो समय डढेलो लाग्नुमा पनि जलवायु परिवर्तनको कारण हुन सक्ने जानकारहरूको मत छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अध्यक्ष अनिल पोखरेल विगतका वर्षमा लाग्ने डढेलोभन्दा यो वर्षको डढेलोजन्य विपद् बढेकाले यसलाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने तर्क गर्छन् । ‘अनुकूलन, जोखिम न्यूनीकरणसँगै अब डढेलोजन्य विपद् न्यूनीकरणका लागि गर्नुपर्ने कार्यमा पनि लगानी गर्न ढिलाइ गर्नॅ हुँदैन,’ उनले भने, ‘डढेलोजन्य विपद् व्यवस्थापनमा ढिलो भए पनि हामीले काम थालेका छौं ।’ प्राधिकरणले सबैखाले विपद्का घटनालाई एकीकृत गर्दै त्यसको क्षति, उद्धार र राहतलगायतलाई सहज बनाउने नीति लिएको छ । प्राधिकरणका अनुसार २०६९ यता यो वर्ष सबैभन्दा बढी वन डढेलो देखिएको छ । कात्तिकदेखि अहिलेसम्म मुलुकभर ३ हजारभन्दा बढी डढेलोका घटना भएका छन् । २०६९ को कात्तिक–चैतमा ३७९, २०७० को त्यही अवधिमा २६९, २०७१ सालमा १०७, २०७२ सालमा ९८९, २०७३ सालमा ३२४, २०७४ सालमा ६१७, २०७५ सालमा ८२९, २०७६ सालमा १८८ स्थानमा डढेलो लागेको थियो । केही वर्षयता विभिन्न कारणले वायु प्रदूषण विकराल बन्दै गएपछि गत वर्ष वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सरकारले ‘काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६’ ल्याएको थियो । तर एक वर्ष बितिसक्दा पनि उक्त कार्ययोजना कार्यान्वयनमा आएको छैन । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार