म्यानमारमा थप ८२ मारिए……

जननिर्वाचित प्रतिनिधिलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेको म्यानमारको सेनाले शुक्रबार एकै दिन ८२ जना नागरिकको हत्या गरेको छ। म्यानमारको यांगुन सहरनजिकै सेनाको कदमको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा उक्त संख्यामा हताहती भएको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) ले जनाएको छ। म्यानमारका स्थानीय मिडिया र घटनाका प्रत्यक्षदर्शीका अनुसार सुरुमा उक्त आक्रमणमा केकति प्रदर्शनकारीको मृत्यु भयो भन्ने यकिन भएको थिएन । सेनाले हत्या गरिएका प्रदर्शनकारीको शव एकमाथि अर्काे राख्दै वरिपरिबाट घेरेको थियो । स्थानीय समाचार संस्था ‘म्यानमार नाओ’ ले पनि उक्त हमलामा ८२ जनाले ज्यान गुमाएको जनाएको छ। उक्त समाचार संस्थाका अनुसार सेनाले शुक्रबार बिहानैदेखि गोली चलाउन सुरु गरेको र यो क्रम दिउँसोसम्म पनि जारी थियो। म्यानमारका सामाजिक सञ्जालहरूका अनुसार पछिल्लो प्रदर्शनका क्रममा सेनाले हालसम्म ६ सय १८ जनाको हत्या गरेको छ । सेनाले भने यसलाई अस्वीकार गर्दै आएको छ। सेनाका प्रवक्ता मेजर जनरल मिन टुनले शुक्रबार एक पत्रकार सम्मेलनमा दुई सय ४८ जना प्रदर्शनकारी र १६ जना सुरक्षाकर्मीको मृत्यु भएको दाबी गरेका थिए। उनले सुरक्षा फौजले प्रदर्शनकारीमाथि कुनै पनि किसिमका स्वचालित हतियार प्रयोग नगरेको दाबी गरे । म्यानमारमा सेनाले प्रदर्शनकारीमाथि गोली चलाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका घटनाले भने सेनाको दाबीलाई गलत साबित गरिदिएको छ। श्राेत:एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार