संक्रमण दर ४० प्रतिशत…..

कोरोना संक्रमण दर शनिबार करिब ४० प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जना अर्थात् ३९.६१ प्रतिशतमा संक्रमण देखिएको छ । यो हालसम्मकै उच्च संक्रमण दर हो । यसअघि गत बिहीबार संक्रमण दर ३८.३५ प्रतिशत थियो । ‘केही दिनयता हामीकहाँ संक्रमण दर भारतको दाँजोमा बढी देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । कोरोना संक्रमणले शनिबार १९ जनाको मृत्यु भएसँगै एक सातामा ज्यान गुमाएकाको संख्या १ सय ६२ पुगेको छ । हाल सरदर दुई सय जना प्रयोगशाला प्रमाणित संक्रमितमा एक जनाको मृत्यु भइरहेको छ । एक सातामा ३१ हजार ८ सय ६ जना पीसीआर प्रमाणित संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ७ सय ६ जनामा संक्रमण पाइएको छ । एक दिनमा संक्रमण पुष्टि भएको यो संख्या पनि हालसम्मकै बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मुलुकमा सक्रिय संक्रमितको संख्या हरेक दिन एकदेखि डेढ प्रतिशतका दरमा बढिरहेको छ । हाल देशभरिमा कोभिडका ४३ हजार २ सय १३ जना सक्रिय संक्रमित छन्, जुन कुल संक्रमितको १३.१४ प्रतिशत हो । एक जना संक्रमितले अन्य व्यक्तिलाई सार्ने दरसमेत केही दिनयता भारतको दाँजोमा नेपालमा बढी देखिएको छ । ‘हामीकहाँ कुनै ठाउँमा संक्रमित व्यक्ति पहिचान हुँदा उनका वरिपरिका सबैजसो कोभिड पोजिटिभ देखिने अवस्था छ,’ सहप्रवक्ता डा. अधिकारीले भने । संक्रमित भइसकेपछि ढिलो अस्पताल पुग्ने भएकाले पनि मृत्युदर बढेको हुन सक्ने उनले बताए । ‘हाल अधिकांश व्यक्तिले कोभिडको आशंका हुनासाथ परीक्षण गराउँदैनन्,’ उनले भने, ‘अवस्था जटिल भएपछि अस्पताल आउँछन् ।’ विज्ञहरूका अनुसार हाल कोरोना संक्रमणको आशंका लाग्नासाथ १० दिनदेखि १५ दिनसम्म क्वारेन्टाइनमा बस्ने प्रवृत्ति कम देखिएको छ । अधिकांशले संक्रमणको सुरुवातमै परीक्षण नगराउँदा समाजमा फैलिरहेको उनीहरूको आकलन छ । कोराना संक्रमणले आईसीयू र भेन्टिलेटरमा जानेको संख्या पनि हरेक दिन बढ्दो छ । मुलुकभरमा शनिबार ४ सय १ जना आईसीयूमा र १ सय १० जना भेन्टिलेटरमा गरी ५ सय ११ जना सघन उपचारमा छन् । काठमाडौं उपत्यकामा आईसीयूमा १ सय ३४ र भेन्टिलेटरमा ५६ जना छन् ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार