अन्ततः ओली नै प्रधानमन्त्री, गठबन्धन सरकारको प्रयास विफल……

पदमुक्त भएको तीन दिनपछि नै एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । विहीबार राति राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सपथ ग्रहण भने आज शुक्रबार दिउँसो साढे २ बजे हुने शीतलनिवासले जनाएको छ । वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबैभन्दा बढी सदस्य भएको दलको हैसियतमा एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ । यसअघि राष्ट्रपति कार्यालयले विहीबार राति एक विज्ञप्ति जारी गर्दै धारा ७६(२) अनुसार कसैको पनि दाबी नपरेको उल्लेख गरेको थियो । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरिएको भए पनि अन्तिम समयमा आएर नेकपा एमालेको नेपाल खनाल पक्षले असहयोग र जसपाकै महन्थ ठाकुर केपी ओलीतिर ढल्किँदा वैकल्पिक सरकार बनाउने योजना तुहिएको थियो प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली वैशाख २७ मा पदमुक्त भएका थिए । प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए । ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले अबको एक महिनामा फेरि संसदमा विश्वासको मत लिनुपर्नेछ । यससँगै ओलीले प्रधानमन्त्रीमा ह्याट्रिक पूरा गरेका छन् । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार