ब्ल्याक फंगसको जोखिम……

कोरोनामुक्त भएका र संक्रमितमा पनि छिटपुट रूपमा देखिएको ब्ल्याक फंगस रोगको जोखिम भए पनि त्यसको उपचारको तयारी हुन सकेको छैन । सुदूरपश्चिमको प्रमुख अस्पताल धनगढीको सेती प्रादेशिक अस्पतालमा अझै ब्ल्याक फंगसको पहिचान र उपचारको तयारी हुन सकेको छैन । कञ्चनपुरको महाकाली अस्पतालमा भने रोग पहिचान र उपचारको प्रारम्भिक तयारी हुन लागेको अस्पतालका चिकित्सकहरू बताउँछन् ।सुदूरपश्चिमको रेफरल सेन्टरका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका चिकित्सकहरूले हालसम्म ब्ल्याक फंगसका बिरामीहरू जानकारीमा नआएको बताएका छन् । ‘यस प्रकारका बिरामीहरू छन् या छैनन् भन्ने यकिन हुन सकेको छैन,’ कन्सल्ट्यान्ट फिजिसियन डा. शेरबहादुर कमरले भने, ‘छिमेकी ठाउँसम्म पुगिसकेकाले यहाँ पनि अध्ययन र उपचार व्यवस्थाको तयारीमा बस्नुपर्ने देखिएको छ ।’ ब्ल्याक फंगस कडा प्रकारको कोरोना संक्रमणबाट निको भएका बिरामीहरूमा देखा पर्ने रोग हो । संक्रमितलाई एचडीयू वा आईसीयूमा राख्दा अक्सिजन र स्टेरोइड औषधि दिएर निमोनियाको उपचार गरिन्छ । यसको प्रतिफल शरीरमा प्रतिरोधात्मक क्षमता घट्दै जान्छ र अक्सिजनको चिसोले ब्ल्याक फंगस उत्पन्न हुन सक्ने सम्भावना रहने चिकित्सकहरूले बताए । धनगढीमा हालसम्म यसको उपचारबारे कुनै तयारी छैन । सेती अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले यो रोग देखियो भने समस्या हुन सक्ने सम्भावना रहेको बताए । ‘बेलैमा सोच्नुपर्ने आवश्यकता छ,’ उनले भने । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार