संवैधानिक इजलासद्वारा विघटन विरुद्धको मुद्दामा ‘एमिकस क्युरी’ झिकाउने सर्वोच्चको आदेश……

प्रतिनिधिसभा विघटन मुद्दामा अन्तिम सुनुवाइका लागि संवेधानिक इजलासले ‘एमीकस क्युरी’ झिकाउन आदेश दिएको छ । एमीकस क्युरी अदालतले इजलासलाई सहयोग गर्न बनाउने विज्ञको टिम हो । इजलासले आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनको प्राध्यापक, कानुन व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्‍याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमीकस क्युरी) को रूपमा झिकाई निजको राय लिन सक्नेछ । संवैधानिक इजलासद्वारा एमीकस क्युरीका लागि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुई-दुई जना वरिष्ठ अधिवक्ताको नाम झिकाउन आदेश दिएको हो । बुधबारको सुनुवाइपछि जारी आदेशमा ४ सदस्यीय एमीकस क्युरीको नाम झिकाउन भनिएको छ । आदेशमा लेखिएको छ, ‘अदालतको सहयोगी (एमीकस क्युरी)को रूपमा नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुई/दुई जना विद्वान् वरिष्ठ अधिवक्ताहरूको सहयोग उपलब्ध गराइदिन तत्काल लेखिपठाउनू ।’ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, इश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले एमीकस क्युरी झिकाउने आदेश गरेको हो । पुस ५ गतेको प्रतिनिधिसभा विघटनपछिको मुद्दामा ५ सदस्यीय एमीकस क्युरी गठन गरिएको थियो । यसपटक चार जनाको मात्रै एमीकस क्युरी गठन भएको हो । प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दाको अन्तिम सुनुवाइ असार ९ गतेदेखि निरन्तर गर्नेगरी आदेश भएको छ । सुनुवाइका क्रममा रिट निवेदक, विपक्षी र एमीकस क्युरीका लागि समय पनि आदेशसँगै तय गरिएको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार