काकाकुल उपत्यकालाई, मेलम्ची फेरि अनिश्चित, सहज कहिले हुने भन्ने टुंगो छैन…..

सिन्धुपाल्चोक,काठमाडौं — सुरुङमार्ग मर्मतका लागि पानी निकालेर सुरुङ खाली गरिएकै दिन बाढीपहिरोले क्षति पुर्‍याएपछि मेलम्ची आयोजनाको पानी काठमाडौंमा पुनः वितरणको मिति अब अनिश्चित बनेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची आयोजनाको बाँध, सुरुङ, सडक, मोटरेबल पुल तथा मुहानको संरचना गत मंगलबारको बाढीपहिरोले क्षतविक्षत पारेको छ । मेलम्ची आयोजनाको बाँधसँगको सम्पर्कविच्छेद भएको छ । आयोजनाको बाँध जोड्ने प्रवेश मार्गको अन्तिम खण्ड करिब ६ किमि सडक भत्किएर मेलम्ची खोलामा खसेको छ । निर्माण सुरु भएको २२ वर्षपछि आयोजनाले सुन्दरीजलको रिजर्भ ट्यांकी हुँदै गत फागुन १० देखि काठमाडौं उपत्यकामा पानीको वितरण परीक्षण गरेको थियो । काकाकुल उपत्यकालाई लामो प्रतीक्षापछि अब धारामा पर्याप्त पानी आउनेमा आश्वस्त पारेको आयोजनाले सुरुङ मर्मतका लागि गत सोमबारदेखि वितरण बन्द गरेको थियो । अब मर्मत भएर कहिलेदेखि मेलम्चीको पानी उपत्यकामा सहज हुन्छ भन्ने जवाफ प्राविधिकहरूसँग छैन । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाबाट चीन जोड्ने तातोपानी नाका क्षेत्रको भासिएको सडक । अविरल वर्षाका कारण सडक र पुल भासिएपछि भोटेकोसी–२ तातोपानी नाका शनिबार बिहानैबाट ठप्प भएको छ ।  बाढीले गरेको क्षतिको विवरण पनि तत्काल पूरै तयार पार्न समस्या छ । स्थलगत अवलोकनका लागि यातायात सञ्जाल टुटेकाले घटनाको चार दिनसम्म पनि आयोजनाको वास्तविक क्षतिको पूर्ण विवरण तयार हुन नसकेको हो । मुख्य सुरुङमा भने क्षति नपुगेको अनुमान आयोजनाको छ । आयोजनाका डिभिजन इन्जिनियर तथा प्रवक्ता राजेन्द्रप्रसाद पन्त क्षतिको अवस्था हेर्न जान सजिलो नभएको बताउँछन् । करिब चार मिटर उचाइको बाँध मुहानको माथिल्लो भाग सेमेसिदाङ हिमालमुनिको भेमाथाङ चौरबाट आएको पहिरो मेलम्ची खोलामा मिसिएर आएको बाढीले पुरेको छ । पानी ओभर–फ्लो भएर बाँध ढुंगामाटोले भरिएको अनुमान गरिएको छ । पक्की बाँध निर्माणकै चरणमा रहेकाले मेलम्चीको पानी हेडवर्क्समा निर्माण गरिएको अस्थायी सुरुङबाट मुख्य सुरुङमा पठाउने गरिएको थियो । ‘अस्थायी सुरुङको मुख नै टालिएको छ । प्रारम्भिक रिपोर्टका आधारमा आयोजनाको हेडवर्क्सको सुरुङको मुखबाट कति टाढा (लम्बाइ) सम्म ढुंगामाटो भरिएर बन्द भएको छ भन्ने यकिन भएको छैन,’ पन्तले भने । निर्माणाधीन बाँधलाई बाढीले छोपेको छ । बाँध निर्माणका लागि बनाइएको मुहान क्षेत्रको सडक र अम्बाथानका दुइटा बेलिब्रिज बगाएकाले अडिट सुरुङमा प्राविधिक पुग्नै समस्या छ । मुहान पुग्न ६ किमि टाढा प्रवेशमार्ग बाट हिँडेर जाने गारेटो पनि छैन । आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार बाँध ढुंगामाटोले भरिए पनि नभत्काएको अनुमान छ । तर बाँध पुरिएपछि पानीको सतह माथि आउने भएकाले कसरी मर्मत गर्ने भन्ने फेरि अध्ययन जरुरी देखिएको छ । वर्षा नरोकिएको र सडक सञ्जाल जोड्न अस्थायी प्रकृतिका काम गर्नसमेत प्राविधिक डराएका छन् । ‘अहिले पनि बाढी रोकिएको छैन,’ उनले भने ‘कुन तहको क्षति भयो यकिन गर्नै नसकिने अवस्था छ ।’ आफूले खानेपानी मन्त्री अनिल झालाई मेलम्चीको पछिल्लो अवस्थाबारे जानकारी गराएको उनले बताए । ‘माथिल्लो निकायबाटै प्रयास नगरे आयोजनाले मात्र केही गर्न सक्दैन,’ उनले भने । मेलम्ची बजारदेखि मुहानसम्मको १८ किमि सडक सञ्चालन गरेपछि मात्र वास्तविक अवस्था पत्ता लाग्ने उनको भनाइ छ । भन्छन्, ‘सकेसम्म बेलिब्रिज राखेर भए पनि यातायात सञ्चालन गर्नुपर्छ भन्ने मान्यतामा छौं । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार