केपी जेठ २ मा फर्किए माधवले के गर्लान् ?…..

काठमाडौं, नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी र सो कमिटीले नेताहरुमाथि गरेको कारवाहीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिने आदेशपछि अध्यक्ष ओलीले बरिष्ठ नेता नेपाल पक्षले भन्दै आएको जेठ २ मा फर्कने संकेत देखाएका छन् । यससँगै नेता नेपाल केपी ओली ओली र शेरबहादुर देउवाको तानातानमा पर्ने संकेत देखिएको हो । यही असार ९ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासबाट ओलीविरुद्धको मुद्दा किनारा लगाउने तयारी भइरहेका बेला एमालेलाई पूर्ववत् अवस्थामा फर्काउने भन्दै अध्यक्ष ओली र नेता नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच लगातार जसो अनौपचारिक वार्ता भइरहेका छन् । तर, यो तहको वार्ताबाट माधव नेपाल स्वयं भने सन्तुष्ट देखिएका छैनन् । यसअघि एमालेलाई (२०७५ जेठ २) को अवस्थामा फर्काउन आनाकानी गरेका अध्यक्ष ओलीलाई सर्वोच्चको पछिल्लो आदेशले आफ्नो सरकार जोगाउनकै लागि भएपनि एमाले एकता कायम राख्नुपर्ने बाध्याता देखिन्छ । त्यसका लागि ओलीले पार्टी एकताका नाममा वार्ता गर्न आफू निकटका नेताहरुलाई खटाइरहेका छन् । ओली यो वार्तापछि पनि नेता नेपाल एमालेमा नआए पनि अरु केही प्रभावशाली नेताहरुलाई आफ्नो पक्षमा पार्न र नेपाललाई एक्ल्याउन सकिन्छ भन्ने बुझाइमा छन् । विपक्षी गठबन्धन नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षलाई भने नेपाल समुह ओलीसँग मिल्न गए ओली विरुद्धको गठबन्धन कमजोर बन्ने चिन्ता छ । विपक्षी गठबन्धनलाई कमजोर पार्ने योजनाअनुसार नै ओलीले एमालेभित्रको एकता प्रक्रियालाई तीव्र बनाएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ । सोमबारमात्रै काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता नेपालकै निवास कोटेश्वर पुगेर नेता नेपालसँग छलफल गरेका छन् । यसअघि प्रायःजसो काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हुँदै आएको विपक्षी गठबन्धनका शीर्ष नेताबीचको छलफल पछिल्लोपटक नेता नेपालकै निवास कोटेश्वरमा भएको थियो । यतिसम्म कि अहिलेसम्म अन्य नेताका घरमा विरलै पुग्ने देउवा सोमबार भने आफ्ना सहयोगी अर्का काँग्रेस नेता पूर्णबहादुर खड्कालाई साथमै लिएर नेपाल निवास कोटेश्वर पुगेका थिए । प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको माधव समूहसहित १४६ जना सांसदले रिट निवेदन दिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । संसद पुनस्र्थापना भए ओली नेतृत्वको सरकार ढाल्ने बुझाइमा रहेको विपक्षी गठबन्धन एमालेको माधव नेपालसँग साथ अनिवार्य खोजिरहेको छ । तर, प्रधानमन्त्री ओली भने एमालेका सके सवै सांसद नभए माधव समुहमा लागेका एकाधबाहेकका अरुलाई आफैसँग राख्ने रणनीतिमा छन् । लुम्विनी, प्रदेश १ र बागमति प्रदेशमा एमालेका दुवै समुह एक नभए विपक्षी गठबन्धनले सरकार बनाउने ल्याकत सहजै राख्ने प्रदेश सांसदको गणितले देखाउँछ । सोही कुरा बुझेका ओली माधव पक्षका केही नेताहरुलाई एमाले एकताका नाममा फकाउने रणनीतिलाई निरन्तरता दिइरहेका छन् । ओलीको प्रतिगामी कदमकै कारण नेपालसहितको विपक्षी गठबन्धन बनेपनि पुन नेपाल पक्ष ओलीसँग मिल्न गए विपक्षी गठबन्धन कमजोर हुने र ओली थप शक्तिशाली बन्ने त्रास गठबन्धनका नेताहरुलाई छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका एमाले केन्द्रीय सदस्य सूर्य थापाले नेता नेपालको घरमा काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गएर गरेको भेटवार्तालाई एमाले सिध्याउन गरेको घरदैलोको संज्ञा दिएका छन् । नेता नेपालका घरमा भएको नेताहरुको छलफलको तस्वीर शेयर गर्दै ओलीका सल्लाहकार थापाले ट्वीटरमा लेखेका छन्, ‘यो तस्बिरले मान गरेछ कि अपमान ? देउवा प्रचण्ड र उपेन्द्र । एमाले सक्याउन नै उहाँहरुको यो घरदैलो चलिरहेको छ ।  एमालेमा सम्मानजनक पुनर्वहाली र नेकपा एकता अघिको अवस्थामा फर्कनुपर्ने अडान राखेका नेता नेपाल पछिल्लो समय केही लचक जस्तो देखिएका अध्यक्ष ओलीसँग जाने हुन् या विपक्षी गठबन्धनलाई नै निरन्तरता दिने हुन् भन्ने चासो बढेको छ । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार